अमेरिकामा जो बाइडेन निर्वाचित भएलगत्तै चीनको कडा प्रतिक्रिया, विश्वभर तरङ्ग

आइतबार, २३ कार्तिक २०७७

एजेन्सी – आगामी कार्यकालका लागि अमेरिकामा भएको राष्ट्रपतिय निर्वाचनमा जो बाइडेन निर्वाचित भएका छन । उनी निर्वाचित भएको दिन चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिका बारेको कडा अभिव्यक्ति दिएका छन ।

अमेरिकाको नाकाबन्दीका बाबजुत आगामी १५ बर्षभित्र चीनको कुल ग्राह्यस्थ उत्पादन जीडीपी दोब्बर बनाउने बताएका छन । उनले सन् २०३५ सम्ममा चीनको जीडीपी दोब्बर बनाउन सम्भव रहेको प्रतिक्रिया दिएका हुन । अमेरिकासँगको विवादबीच १५ वर्षको अवधिमा देशको जीडीपी र प्रति व्यक्ति आयलाई दोब्बर बनाउन सम्भव रहेको सीले बताएको चीजको सरकारी समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।

हालै सम्पन्न १४ औं पञ्चवर्षीय योजनाको छलफलपछि सीले भनेका छन्,‘गम्भीर अध्ययन र अंक गणितपछि चीनले लामो समयसम्म दिगो बिकासलाई व्यवस्थापन गर्नसक्ने हामीले पाएका छौं।’

चिनियाँ कम्युनिस्ट पार्टीको उक्त छलफलले पाँच वर्षको मात्र नभएर सन् २०३५ सम्मकै योजना बनाएको चिनियाँ संचार माध्यमले बताएका थिए। यसबीचमा सीले १५ वर्षभित्र हालभन्दा दोब्बर जीडीपी र प्रति व्यक्ति आय बनाउन सम्भव रहेको बताएको विषय सार्वजनिक भएको हो।

पछिल्लो समय चीन प्रविधिको क्षेत्रमा निकै शक्तिशाली बन्दै गएको छ। साथै चीनको व्यापार विश्वभर फस्टाउँदै गएको छ। तर अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ। अमेरिकाले चिनियाँ सामग्रीलाई प्रतिबन्ध लगाएको छ र विश्वले चिनियाँ सामग्री प्रतिबन्ध गरोस् भन्ने चाहन्छ।

यसबीचमा डोनाल्ड ट्रम्प राष्ट्रपतिको निर्वाचनमा पराजित भइसकेको अवस्थामा अब नयाँ राष्ट्रपति बन्ने जो बाइडेनले चीनविरुद्ध कस्तो नीति लिनेछन् त्यो हेर्न बाँकी छ।

सी चिनफिङको यो प्रतिक्रियाले विश्वभर तरङ्ग पैदा गरेको छ । उनको यो अभिव्यक्तिले बाइडेनलाई नाकाबन्दी फुकाउन प्रेसर दिने विश्लेषण गरिएको छ ।