फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

आइतबार, २३ कार्तिक २०७७

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते बिहीबारसम्मका लागि सरेको हो ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक सरेको बताएका हुन । उनका अनुसार बिहीबारको बैठक दिउँसो १ बजे बस्नेछ ।

यसअघि २१ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मागमा सहमति नजुटेपछि सोमबारका लागि सारिएको थियो । पौडेल पक्षले असोज ११ गते केन्द्रीय कार्यालयमा दर्ता गराएका विषय सम्बोधन नभए बैठकमा नजाने जनाउ दिएपछि पटक पटक बैठक सर्दै आएको छ । आन्तरिक विवादलाई अनौपचारिक बैठकमै टुंग्याउन पौडेल पक्षले जोड दिँदै आएको छ ।

‍पौडेल पक्षले क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समिति सम्बन्धका माग राखेको छ ।