ओलीलाई दिएको अल्टिमेटम आज सकिँदै, अब के हुन्छ ?

सोमबार, २४ कार्तिक २०७७

काठमाडौं – सत्तारुढ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत सचिवालय सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको बैठक बोलाउन दिएको ४८ घण्टे अल्टिमेटम सोमबार सकिँदैछ ।

तर, यो सामग्री तयार पार्दासम्म अध्यक्ष ओलीले पार्टीको बैठक बोलाउन छाँटकाँट देखिएको छैन । बरु असन्तुष्ट नेताहरुलाई आफैले र आफ्ना दूतका रुपमा महासचिव विष्णु पौडेललाई सक्रिय बनाएर छलफल गरेका छन् ।

नौ सदस्य सचिवालयका पाँच जना सदस्यहरुले लिखित रुपमा पार्टीको बैठक बोलाउन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई दिएको ४८ घण्टे अल्टिमेटम सोमबार सकिन लागेको हो ।

यसरी बैठक बोलाउन ओलीलाई अल्टिमेटम दिने सचिवालय सदस्यहरुमा कार्यकारी अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ हुन् ।

बालुवाटार पुगेर उनीहरुले बुझाएको लिखित पत्रमा सोमबारभित्र बैठक बोलाउन अल्टिमेटम दिइएको छ । तर, उनीहरुको अल्मिेटमलाई अध्यक्ष ओलीले वेवास्ता गरिरहेका छन् ।

पार्टीको बैठकबाट भागेको आरोप लागिरहेका बेला ओलीलाई बैठक राख्न उनीहरुले लिखित रुपमै अल्टिमेटम दिएका हुन् । पार्टीको औपचारिक बैठक राख्नभन्दा नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता र अनौपचारिक छलफल गर्ने मनशायमा अध्यक्ष ओली देखिन्छन् ।

यही रणनीतिअनुसार आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तलाई बोलाएर कुराकानी गरेका थिए । सो क्रममा नेता नेपालसमक्ष प्रधानमन्त्री र अध्यक्ष बनाउने ओलीले प्रस्ताव गरेका थिए ।

प्रचण्ड र नेपालले राखेको बैठकलाई गुटको संज्ञा दिँदै आएका ओली आइतबार बालुवाटारमा पार्टीको औपचारिक बैठक नराखी नेपाल पक्षका नेताहरुले छलफल गरेका हुन् ।

तर, अध्यक्ष ओलीले बैठक नबोलाए के गर्ने भन्नेमा प्रचण्ड–नेपाल समूहले आपसी छलफल गरेर निर्णय लिइने जानकारी दिएको छ ।