सहमति कार्यान्वयनमा उदासिन ओली सरकार, अझैं छुटेनन् विप्लवका नेता कार्यकर्ता
बैतडी – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको सहमति कार्यान्वयन गर्न सरकार उदासिन देखिएको छ । सरकारसँग तीन बुदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा होमिएको नेकपाका १ सय २६ जना नेता कार्यकर्ता पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनीहरुलाई रिहा गर्न सरकार उदासिन देखिएको हो ।
सहमतिको एक बुदामा कारागारमा रहेका सबै नेता–कार्यकर्तालाई रिहा गर्ने र सरकार पक्षले लगाएको सम्पूर्ण मुद्धा फिर्ता लिने सहमति भएको थियो । तर सरकारले त्यस विषयमा कुनै पनि चासो दिएको छैन ।
गत फागुन २० गते भएको सहमतिमा सरकारको तर्फबाट नेकपा माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दी रिहाइ गर्ने र मुद्दा खारेजी गर्ने उल्लेख छ। नेकपाले पनि आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने सहमति गरेको छ।
सरकारले सहमति गरेपनि आफ्ना नेता–कार्यकर्ता छोड्न ढिलाइ गरेको नेकपा सचिवालय सदस्य धवेन्द्र बास्तोलाले बताए । ‘सरकारले इमान्दारी देखाएको छैन,’ उनले भने, ‘कानूनी प्रकृया पुर्याएर इमान्दारीपूर्वक हाम्रा नेता–कार्यकर्ता छोड्नुपर्छ।’
नेकपाका नेता–कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ आइनपुगेको विभिन्न जेलका जेलरहरुको भनाई छ । कुनैपनि किसिमको पत्र नआउँदासम्म्म कसैलाई पनि छोड्न नमिल्ने कारागारका जेलरहरुको भनाई छ । सरकारसँग सहमति भएपनि परिपत्र नआउँदा समस्या भएको उनीहरुको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते नेकपा र उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। यही फागुन २१ गते सरकार र नेकपाबीच तीन बुदे सहमति भएपनि उक्त पार्टीमाथिको प्रतिबन्द फुकुवा भएको थियो ।