झापाका ४५ हजारले लगाए कोरोनाविरुद्धको खोप

आइतबार, ८ चैत्र २०७७

काठमाडौं – झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको छ ।

गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए ।

त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए ।