प्रेरक प्रसंग : संसारमा सबैभन्दा सुखी उसलाई भनिन्छ जो अन्तिम समयपनि सुखी हुन्छ
काठमाडौँ – कुनै व्यक्तिको सुख–सुविधालाई हेरेर अनुमान लगाउन सकिँदैन कि उसको जीवन सुखी छ वा छैन भनेर । कयौँ व्यक्ति यस्ता छन, जोसँग सबै सुख–सुविधा छ तर उसको मन अशान्त रहन्छ । यसै प्रसंगमा एउटा कथा मनन गरौँ ।
एक राजासँग सुख–सुविधाका सम्पूर्ण साधन थिए, ठूलो राज्य, अपार धन सम्पति, विशाल सेना थियो । राजालाई सम्पूर्ण कुरा भएकोमा घमण्ड थियो । एक दिन उनको राज्यमा एक सन्त पुगे । सन्तको उपदेश सुन्नको लागि धेरै उनीकोमा पुग्दथे । विस्तारै विस्तारै सन्तको प्रशिद्धि बढ्न थाल्यो ।
केहि दिनपछि सन्तको प्रवचन सुन्नको लागि अधिक मानिसहरु पुग्न थाले । जब यो कुरा राजालाई थाहा भयो तब राजाले सन्तलाई आफ्नो दरबारमा आमन्त्रित गरे । सन्तको लागि धेरै पकवान बनाए । उचित आदर सत्कार गरे ।
भोजनपश्चात जब सन्त आफ्नो कुटीतर्फ फर्कन लागेका थिए तब राजाले सन्तसंग भने— गुरुदेव मसँग सबै सुख–सुविधा छ, धन छ । म यो संसारमा सबैभन्दा सुखी हूँ । तपाईंले चाहनुभएमा यो सबै सुख प्रदान गर्न सक्छु । तपाईं माग्न सक्नुहुन्छ ।
सन्तले राजसँग भने— राजन म मेरो जीवनसँग सन्तुष्ट छु । किनकी, मेरो चाहना अत्यन्तै कम छन्, मेरो मन शान्त छ मलाई कुनै चीजको जरुरत छैन । उसैपनि संसारमा सबैभन्दा सुखी उसलाई भनिन्छ जो अन्तिम समयपनि सुखी हुन्छ ।
सन्तको यो कुरा सुनेर राजा क्रोधित भए र सन्तलाई महल बाहिर जान भने । सन्तपनि प्रभुलाई सम्झिएर आफ्नो कुटी फर्किए । केहि दिनपछि राजाका शत्रुहरुले राज्यमा आक्रमण गरे ।
राजाको सेना युद्धमा पराजित भए । विरोधी सेनाले राजालाई बन्दी बनाए । राजालाई मृत्युदण्ड दिने तयारीमा लागे । यो देखेर राजालार्य सन्तको कुरा याद आयो, जुन व्यक्ति अन्तिम समय सुखी हुन्छ त्यसैलाई सुखी भनिन्छ ।
तब त्यहाँ ति सन्तु पुगे । विरोधी राजाले सन्तको सम्मान गर्दथे । सन्तलाई देखेर बन्दी बनेको राजाले उनका चरणमा पाउ परे र भने— तपाईंले सहि भन्नुभएको थियो । अब मेरो अहँकार टूटिसकेको छ ।
सन्तले राजालाई उठाए र उनका विरोधी राजासँग उनलाई छोड्नको लागि निवेदन गरे । अर्का राजाले सन्तको कुरा मानेर बन्दी राजालाई छाडिदिए ।