वामदेव र विष्णु पौडेलबीच चार घण्टा छलफल, के पाक्दैछ खिचडी ?

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेभित्रको विवाद समाधान तर्फ अगाडी बढेको छ । पार्टीका शीर्ष नेताहरु छलफल र परामर्शमा जुटेका छन् । यसैबीच, एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेलबीच लामो भेटवार्ता भएको छ ।

दुई नेताबीचको भेटवार्तालाई उपाध्यक्ष गौतमको सचिवालयले भने सामान्य कुराकानी भनेको छ तर पार्टीको विवाद उत्कर्षमा रहेका बेला उनीहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

‘सामान्य कुराकानी भन्ने कुरा छ तर त्यसक्रममा पार्टी विवाद र एकताबारे कुराकानी हुनु स्वभाविक हो’ गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीको भनाइ छ ।

सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीका नाममा भएका कारवाहीका निर्णयलाई मान्यता नदिने आदेश दिएपछि २०७५ जेठ २ कै अवस्थाकै संरचनामा पार्टी बैठक बोलाउने कि के गर्ने भन्नेमा ओली पक्ष अलमलमा परेको छ । त्यसका लागि ओलीले आफु निकटका नेताहरुसँग परामर्श गरिरहेका छन् ।

गौतमलाई भेट्न पौडेल सोमबार बिहान नौ बजे गौतम निवास पुगेका थिए । उनीहरुबीच नौ बजेदेखि १ बजेसम्म कुराकानी भएको बुझिएको छ ।