कर्णालीमा स्वास्थ्य सामाग्री वितरण गर्दै विदेशमा रहेका कर्णालीवासी

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडौं – कर्णाली थातथलो भएर विश्वका विभिन्न देशहरुमा रहेको युवाहरुले कर्णालीका लागि स्वास्थ्य सामाग्री पठाएका छन् । कर्णाली प्रदेश समाज क्षेत्रीय कमिटि कान्तो (टोकियो) जापान, पर्थ नेपाल अर्गनाईजेशन टिम अष्ट्रेलिया, हाम्रो टिम नेपाल र टिम पल शाह लगायतको संयुक्त सहयोगमा स्वास्थ्य सामाग्री पठाइएको हो ।

दैलेखको आठविसकोट नगरपालिकाको तिलेपाटा स्वास्थ्य चौकी, दुल्लु नगरपालिकाको कालभैरव स्वास्थ्य चौकी, कालिकोटको रास्कोट अस्पताल, पचाल झरनाको सिकु स्वास्थ्य चौकी, रकु र मुम्रा स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामाग्री वितरण गर्न लागिएको हो । कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकामा रहेको जिल्ला अस्पताल कालिकोटलाई अक्सिजन सिलिन्डर, स्वास्थ्य सामाग्री र खाध्यान्न समेत उपलब्ध गराइने भएको छ ।

दैलेखको तल्लो डुङ्गेश्वरमा रहेको बादी बस्तीमा पनि खाध्यान्न तथा कोभिड १९ बिरुद्धका सुरक्षित सामाग्री सहयोग गर्नका लागि टोली तयारी अवस्थामा रहेको जापानबाट जीवन शाहीले बताए । त्यस्तै, प्रदेशको जाजरकोट र रुकुम पश्चिम तिर पनि स्वास्थ्य सामाग्री पुर्याउने उनको भनाई छ ।

स्वास्थ्य सामाग्री र खाध्यान्ह बोकेको टोली सुर्खेतबाट हिडिसकेको बुझिएको छ ।