शैक्षिक परामर्श व्यवसायीलाई खुशीको खवर, अन्तर्राष्ट्रिय विद्यार्थी लिने तयारीमा अष्ट्रेलिया

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडौँ – झण्डै दुई बर्षदेखि अवरुद्ध रहेको नेपालको शैक्षिक परामर्श व्यवसायका लागि खुशीको खबर छ । अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्य सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भित्र्याउने भएको छ ।

न्यूसाउथवेल्स सरकारले आगामी जुलाई महिनादेखि विद्यार्थी भित्र्याउने जनाएको छ । न्यूसाउथवेल्सका ट्रेजरर डोमिनिक पेरोटीले सार्वजनिक गरेको योजनामा हरेक दुई सातामा २ सय ५० जना विद्यार्थीहरुलाई क्वारेन्टीनमा राख्नेगरी तयारी गरेको जनाएको छ ।

यसरी जाने विद्यार्थीहरुका लागि छुट्टै क्वारेन्टीनको व्यवस्था गरिनेछ । यो योजनालाई न्यूसाउथवेल्सले पाईलट परियोजना भनेको छ । यसरी पढ्न जाने अन्तर्राष्ट्रिय विद्यार्थीले क्वारेन्टीन लगायतको खर्च भने विश्वविद्यालय, कलेज वा विद्यार्थीहरुले नै तिर्नुपर्नेछ ।

यो कार्यक्रम संघिय सरकारले अनुमति दिएपछि सुरु हुने छ । ढिलोमा आगामी ६ साताभित्र अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिने क्रम सुरु हुनेछ बताइएको छ ।