बाढी र पहिरोको बितण्ड: १३ जिल्ला प्रभावित

बिहिबार, ३ असार २०७८

काठमाडौं–मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ ।

गृह मन्त्रालयका अनुसार बाढी र पहिरोले देशभर ६ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकमा दुई, कास्की, पाल्पा, बाजुरा र डोटीमा एक–एक जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता जकराज दाहालले जनाएका छन्।

उनका अनुसार बाढी र पहिरोमा २७ जना वेपत्ता भएका छन्। सिन्धुपाल्चोकमा १७, जाजरकोटमा सात, बाजुरा, गोरखा, प्युाठन र अर्घाखाँचीमा एक–एक जना वेपत्ता भएका छन्।

त्यस्तै, बाढी र पहिरोमा परी ११ जना घाइते भएका छन्। सिन्धुपाल्चोकमा ६, डोटीमा दुई, जुम्लामा दुई र स्याङ्जामा एक जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। सिन्धुपाल्चोकका घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरेर ललितपुरको बी एन्ड बी अस्पताल भर्ना गरिएको छ।

यसैगरी, बाढी र पहिरोमा परि ८९ घर पूर्ण रुपमा क्षति भएका छन्। त्यस्तै, २६ घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले तथ्यांक छ।
बाढी र पहिरो प्रभावितलाई राहत सामग्री पठाउने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ। त्यस्तै, वेपत्ता भएका व्यक्तिको खोजीका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका दर्जनौं ठाउँमा सडक पनि अवरुद्ध भएको छ । वर्षापछिको बाढी र पहिरोले ठाउँठाउँका सडक र पुलमा क्षति पु¥याएको छ ।

पुष्पलाल राजमार्ग, पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग,मध्य पहाडी राजमार्ग, भिमदत्त राजमार्गआदिका विभिन्न ठाउँमा क्षति पुगेको छ । सडकहरु भत्किएदा धेरै ठाउँको यातायात सम्पर्क विच्छेद भएको छ । जल विद्युत आयोजनामा बाढीले क्षति पु¥याएको छ ।

मौसमविद्ले बाढी, पहिरो तथा डुबानको जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न तथा सतर्कता अपनाउन अपिल गरिरेहका छन् । बाढी पूर्वानुमान महाशाखाले बाढी आउने अनुमानसहितको सूचना जारी गरेको छ ।