गण्डकीका मुख्यमन्त्री मनाङमा अड्किए

बिहिबार, ३ असार २०७८

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङमै रोकिएका छन् । चार दिनदेखि अविरल परेको बर्षासंगै आएको बाढी पहिरो गएर घरवारबिहिन भएका नागरिकलाई राहत लिएर मनाङ गएको मुख्यमन्त्री सहितको टोली खराब मौसमका कारण हेलीकप्टर उड्न नसक्दा मनाङमै रोकिएका हुन् ।
बिहीबार पोखराबाट राहत लिएर मुख्यमन्त्री पोखरेल, मन्त्री दीपक मनाङे, प्रदेश सांसद चिन्तबहादुर घलेलगायत नेपाली सेनाको हेलिकप्टरमा मनाङ गएका थिए । तर, अपरान्ह पोखरा फर्किने तयारी गरिरहेका बेला मौसम बिग्रिएपछि मुख्यमन्त्रीसहितको टोली उतै अड्किएको हो ।
राहत लिएर गएको टोलीलाई लिन पोखराबाट गएको प्रभु एयरको हेलिकोप्टर पनि मौसम खराब हुँदा मनाङको बगर छापमा ल्याण्ड गरेको छ। गण्डकी प्रदेशसभामा शुक्रबार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यक्रम रहेको छ । मुख्यमन्त्री पोखरेल मनाङमा रोकिएपछि भोलिको प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम के हुने भन्ने जिज्ञासा उठेको छ ।