सेती नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

शुक्रबार, ४ असार २०७८

डोटी– लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ ।

डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो ।

केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ ।

सेती नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन प्रहरी प्रशासनले आग्रह गरेको छ ।