बाढी पहिरोमा परी १७ जनाको मृत्यु

शनिबार, ५ असार २०७८

 

काठमाडौँ – बाढी र पहिरोमा परी १७ जनाको मृत्यु भएको छ । पछिल्लो एक सातामा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १–१ जनाको मृत्यु भएको हो ।

३० जेठदेखि शनिबार दिउँसोसम्म आएको बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३÷३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १÷१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना गरी २२ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १०९ जनाको उद्धार गरिएको छ ।