थुनिएको पानी चीनले बिस्तारै खोलिदिएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

आइतबार, ६ असार २०७८

काठमाडौं –चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका डिएसपी भेषराज रिजालले तामाकोशीमा पानीको बहाव बढे पनि जोखिम नरहेको बताए । उनले भने, ‘हिजोअस्तिको भन्दा थ्रेट कम भएको छ ।’

चीनको टिंग्री काउन्टीको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिएको जानकारी चिनियाँ पक्षले गराएको थियो । अहिले चिनियाँ पक्षले नै नदीको बहाव कन्ट्रोलमा रहेको जानकारी दिएकाले तत्कालको जोखिम टरेको विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए ।