भेटियो वनमन्त्रीले १० बर्ष अघि बेचेको रातो पासपोर्ट, को हुन पासपोर्ट लिने व्यक्ति ?

आइतबार, ६ असार २०७८

काठमाडौँ – वन तथा वातावरणमन्त्री नारदमुनि रानाको पासपोर्ट अस्टे«लियामा फेला परेको छ । रानाको नाममा रहेको रातो पासपोर्ट अष्ट्रेलियाको सिड्नीमा फेला परेको छ ।

पासपोर्ट नम्बर ०२१२४४ रहेको छ उक्त पासपोर्टमा जन्म मिति १९७२ जुलाई १७ लेखिएको छ । तत्कालीन सभासद रानाको उक्त कूटनीतिक राहदानीको म्याद एक वर्षे रहेको थियो । सन् २०१० सेप्टेम्बर १९ मा बनेको पासपोर्टको म्याद २०११ सेप्टेम्बर १८ मा सकिएको थियो ।

तत्कालीन सभासद रानाले निकालेको कूटनीतिक राहदानीमा म्याग्दीका निर्मल बानियाँले आफ्नो फोटो टाँसेर अष्ट्रेलिया पुगेको प्रहरीले जनाएको छ । अष्ट्रेलिया पुगेपछि रानाको नामको पासपोर्ट फ्यालेर बानियाँ शरणार्थीका रुपमा बसेको र अहिले पीआरसमेत पाइसकेको प्रहरीको दाबी छ ।

बानियाँलाई प्रहरीले ११ वर्षदेखि खोजिरहेको छ । मानव तस्करले नेताहरूबाट कूटनीतिक पासपोर्ट किनेर बेचेको र उनीहरु अस्ट्रेलिया र क्यानडातर्फ गएको प्रहरीको त्यसबेलाको अनुसन्धानले देखाएको थियो । यो विषयमा अख्तियारमा समेत मुद्दा परेको थियो । राहदानी दुरुपयोगमा ११ जनाविरुद्ध मुद्दा चलेको थियो ।

गोपनीयतासम्बन्धी कानून निकै कडा रहेको अस्ट्रेलियामा यात्रा गरेका व्यक्तिको बारेमा थप जानकारी लिन सम्भव नभएको भन्दै नेपालको सुरक्षा स्रोतले ती व्यक्ति अस्ट्रेलियामा अर्कै नाम र पहिचानसहित स्थापित भैसकेको हुन सक्ने बतायो ।

सन् २०१० ताका नेपालमा ज्यान जोखिममा परेको भन्दै शरणार्थीका रुपमा कतिपय मानिसहरु अष्ट्रेलिया र युरोपमा देशहरुमा जाने गरेका थिए । रानाको राहदानी किनेका व्यक्ति पनि मानव तस्करको सहयोगमा अस्ट्रेलिया आउन सफल भएको स्रोतले बतायो ।

मानव तस्करले रानालगायत अन्य सांसदहरुको पनि कूटनीतिक पासपोर्ट किनेर बेचेको र विभिन्न व्यक्तिलाई अस्ट्रेलिया तथा क्यानडा पठाएको अनुसन्धानबाट देखिएको छ ।

रातो पासपोर्ट बिक्री गरेको अभियोगमा नारदमुनि राना र अन्य सभासद विरुद्ध रानाविरुद्ध अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले बेग्लाबेग्लै अनुसन्धान गरेका थिए । यसक्रममा रानालाई प्रहरीले पक्राउसमेत गरेको थियो । पछि उनलाई विशेष अदालतले सफाइ दिएको थियो ।