‘स्मार्ट लकडाउन’ गर्ने सरकारको निर्णय, के हो ‘स्मार्ट लकडाउन’ ?
काठमाडौं – सरकारले अबदेखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सीसीएमसी निर्देशक समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको थियो । त्यही निर्णयलाई आधार मानेर काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले स्मार्ट लकडाउने गर्ने निर्णय गरेका हुन् ।
स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै आर्थिक, सामाजिक गतिविधिलाई अघि बढाउने भनिएको थियो । यस सम्बन्धी प्रावधानको खाका सीसीएमसीले गृहसहितका मन्त्रालयहरुलाई दिएको थियो ।
मन्त्रालय र विज्ञसँगको छलफलपछि सीसीएमसीले बनाएको ‘स्मार्ट लकडाउन’कै मोडल अनुसार काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा खुकुलो बनाएका हुन् ।
स्मार्ट लकडाउन अन्तरगत अबदेखि निजी सवारी साधन जोर विजोर चल्नेछन् भने बार अनुसार पसलहरु खुल्ने छन् ।
उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।