निषेधाज्ञा थप खुकुलो: अब बजार दिउँसो ३ बजेसम्म खोल्न पाइने

मंगलबार, ८ असार २०७८

कैलाली – जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा खुकुलो पार्दै बजार दैनिक रूपमा दिउँसो ३ बजेसम्म खोल्ने अनुमति दिएको छ । कोरोना भाइरस संक्रमणको चेनब्रेक गर्न गरिएको निषेधाज्ञा खुकुलो पार्दै मंगलबारदेखि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म बजार खोल्ने गरी एक साताका लागि निषेधाज्ञाको समय थपिएको हो ।

प्रमुख जिल्ला अधिकारीले सोमबार जारी गरेको आदेशमा खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स, भाडाबर्तन, पुस्तक तथा स्टेसनरी, कपडा तथा फेन्सी र टेलरिङ पसलहरू खोल्न पाइने उल्लेख गरिएको छ । प्रशासनले बढिमा तीन जना कामदार राखेर बिहान ७ देखि बेलुका ७ बजेसम्म वर्कसप खोल्न सक्ने अनुमति पनि दिएको छ । होटल, रेस्टुराँ, खाजा तथा चिया पसलहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरी होमडेलिभरी तथा टेकअवे सेवा दिनसक्ने अनुमति दिएको छ ।

यसैगरी, निजी सवारी साधनहरूलाई जोरविजोर नम्बरको आधारमा सञ्चालन गर्ने अनुमति दिइएको छ । ट्याक्सी, अटो चालकसहित ३, कार, जिप र भ्यान चालक सहित ४ जना मात्रै सवारी बोक्न पाइने आदेश जारी भएको छ ।