पूर्वमन्त्री प्रभु साह सहभागी कार्यक्रममा बबण्डर, प्रहरीद्धारा अश्रुग्यास प्रहार

बिहिबार, १० असार २०७८

काठमाडौँ – केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएका र अदालतको आदेश पछि पदमुक्त भएका पूर्वमन्त्री सहभागी कार्यक्रममा बबण्डर मच्चिएको छ। रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच विवाद भएपछि झडप भएको छ ।

बिहानदेखि सुरु भएको पाँचौं नगरसभामा प्रमुख अतिथि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साह थिए । साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप भएको हो । अघिल्लो पटकको सर्बोच्चको आदेशले उनी पदमुक्त भएका थिए।

साह नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका थिए । नगरसभामा बजेट पेश गर्ने र विपक्षी पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।

प्रहरीले झडप रोक्न अश्रु ग्यास पनि प्रहार गरेको छ। केहीबेर अघिसम्म चार राउन्ड अश्रु ग्यास प्रहार गरिएको उनले बताए। भिड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको उनको भनाइ छ ।

मौलापुरको मेयर रीनाकुमारी साह हुन् । प्रभु साह मेयर रीनाकुमारीकी पति हुन् । प्रहरीले घटनाबारे छानबिन भइरहेकाले अहिले विस्तृत विवरण दिएको छैन ।