कम्पनीका प्रमुखबाट कुनै क्रियाकलाप भएको छैन : नेपाल टेलिकम
काठमाडौँ – नेपाल टेलिकमले कम्पनीको प्रमुखबाट कुनै पनि क्रियाकलाप नभएको जनाएको छ । मंगलबार मोटिभेट न्यूज डटकममा प्रकाशित समाचारको विषयमा खण्डन पठाउँदै टेलिकमले कम्पनीका प्रमखु डिल्लीराम अधिकारीबाट कुनैपनि क्रिकलाप नभएको जनाएको हो ।
मंगलबार बिहान टेलिकमको सेवा अवरुद्ध भएको विषयमा मोटिभेट न्यूज डटकमले ‘एनसेलबाट एक अर्बको सुपारी लिएर टेलिकमको सेवा अवरुद्ध’ शिर्षकमा समाचार सम्प्रेशण गरेको थियो । मोटिभेट न्यूजलाई खण्डन पठाउँदै टेलिकमका प्रबक्ता राजेश जोशीले उक्त समाचारमा कुनै पनि सत्यता नभएको बताए ।
‘समाचार बिना तथ्य, प्रमाण र कपोलकल्पित आरोप लगाएर प्रकाशित भएको पाइयो । पत्रकारिताको सामान्य सिद्धान्त र मूल्य मान्यताको ख्याल नगरी कुनैपनि प्रविधिमा यदाकदा आउने समस्यालाई आधार बनाएर नेपाल टेलिकमको व्यावसायिक छवी धमिल्याउने तथा प्रबन्ध निर्देशकको चरित्रमाथि नै धावा बोल्नेगरी समाचारका रुपमा सामग्री प्रकाशित गरिएको पाइएको छ ।’ खण्डनमा भनिएको छ, ‘कम्पनीका प्रमुखमाथि कपोलकल्पित आरोपहरु लगाएर कम्पनीप्रतिको ग्राहकवर्गको विश्वास र कम्पनीको व्यावसायिक साखमाथि धावा बोल्न खोजेकोप्रति नेपाल टेलिकम खेद व्यक्त गर्दछ । ’
नेपाल टेलिकमले खण्डनमा समाचारको सत्यता नभएको बताए पनि हामी हाम्रो श्रोत प्रति विश्वस्त छौं । कम्पनीले यस विषयमा सत्यतथ्य छानविन गरी दोशीमाथि कारवाही होस् ।