बैरागी काइँलालाई मस्तिष्कघात, कस्तो छ अबस्था ?
काठमाडौं – कवि बैरागी काइँला (तिलविक्रम नेम्बाङ)लाई मस्तिष्कघात भएको छ । उनका ओम अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका जनसम्पर्क अधिकृत डा. विनोद अधिकारीका अनुसार प्रारम्भिक रिपोर्टले प्रेसर बढेर समस्या भएको देखाएको छ । ‘साहित्यकार काइँलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ’ डा. अधिकारीले भने, ‘होश आइसकेको छ, त्यसैले आइसीयूमा राखेर के भएको हो भन्ने पत्ता लगाउँदैछौं ।’
डा. विश्वनाथ कोइराला, न्युरो डाक्टर कृष्ण ढुंगानालगायतको टोलीले काइँलाको उपचार गरिरहेको जनसम्पर्क अधिकृत अधिकारीले बताए ।
बिहीबार राति ११ बजे घरमै बसिरहेको बेला चक्कर लागेर लड्न पुगेका काइँलालाई ओम अस्पताल ल्याइएको थियो । ८२ वर्षीय काइँलालाई प्रेसर र नाकको रक्तश्राव समस्या रहेको छोरी नामओति नेम्बाङले बताएकी छिन् ।
थोरै कविता लेखर स्थापित नाम बनाएका काइँलाका लिम्बू संस्कृतिसम्बन्धी एक दर्जन अनुसन्धानमुलक पुस्तक प्रकाशित छन् । लोकतन्त्र घोषणापछि गठित नेपाल प्रज्ञा प्रतिष्ठानमा उनी कुलपतिको जिम्मेवारीमा थिए ।