एमाले नेता भुसालको पद धरापमा
काठमाडौं – एमाले नेता वेदुराम भुसालको पद धरापमा परेको छ । राष्ट्रिय सभामा आफू स्वतन्त्र हैसियतमा रहन चाहेको बताएपछि उनको पद धरापमा परेको हो ।
भुसालले आफू स्वतन्त्र सांसद रहन चाहेको भनेर संसद सचिवालयमा पत्र पठाएपछि यसको तरङ्ग एमालेभरी गएको छ । राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईलेले भुसालको सांसद पद चैट हुने बताए ।
भुसालले पार्टी र आन्दोलनमाथि गद्दारी गरेको भन्दै भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘यो पत्रसँगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन् ।
पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन् तर सांसद भइरहन सम्भव हुँदैन । किनभने दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी हुने भनेको छ । त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुईमध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन ।’
मुख्य सचेतक भट्टराई थप लेख्छन्, ‘सूर्य चिह्न र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ? यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।’