अविरल वर्षापछि आएको पहिरोले ९४ परिवार विस्थापित
बाजुराअसारको शुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका सयौँ बस्ती उच्च जोखिममा परेका छन् ।
जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टिको सडक भासिएर पहिरो बग्न थालेपछि विस्थापित भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक बिर्खबहादुर पाण्डेले बताएका छन् । उनका अनुसार गाउँभन्दा तलपट्टिको खोलामा गत वर्ष पनि पहिरो गएको र अहिले पनि गाउँ नजिकै रुगिन हुँदै विच्छ्या जोड्ने सडक निर्माण भएपछि सडक भासिएर पहिरो गएकाले बस्ती नै विस्थापित भएको हो ।
सडकका कारणले गाउँ नै भासिन थालेपछि स्थानीयवासी त्रिपालको सहारामा बस्दै आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।
सडकमाथि गाउँ भएकाले पूरै जमीन भासिएका कारण स्थानीयवासीले आफ्नो घर नै छाडेर खुला ठाउँमा त्रिपालमा रात बिताउने गरेको भण्डारीले बताए ।
पहिरोले क्युडीका घरहरु चर्किएको र घरभित्र पानी पसेर कतिपय घरको खाद्यान्नलगायतका सामग्री ओसार्न नसक्दा आफन्तले दिएको खानेकुरा खाएर बस्न बाध्य भएको गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक पाण्डेको भनाइ छ ।