के मलाई बहुला कुकुरले टोकेको छ : प्रधानमन्त्री ओली

सोमबार, १४ असार २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने विषय हल्ला मात्र भएको बताएका छन् । ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले झुटको राजनीति गरेको बताएका हुन् ।

यसअघि आफूले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् भनेको स्मरण गर्दै उनले भने, ‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो १ मलाई बहुला कुकुरले टोकेको छ र ?

उनले अघि भने, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’ ओलीले एमाले नेता माधव नेपाललाई लाज सरम पचेको मान्छे भनेर टिप्पणीसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्, नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुने रहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ ।’