सभापति देउवालाई झट्का, रामचन्द्र र शेखरबीच यस्तो सहमति ?
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ठूलो झट्का लागेको छ । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच आज भेटबार्ता भएपछि देउवालाई झट्का लागेको हो ।
आगामी १४ औं महाधिवेशनमा कोइरालाले आफूलाई सभापति पदमा आफूलाई समर्थन गर्न वरिष्ठ पौडेललाई आग्रह गरेका छन् । सोमबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका कोइरालाले बरु प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
‘उहाँहरु दुबै जना सभापतिको आकांक्षी हुनुहुन्छ, दुबैले एकअर्कालाई सहयोग गर्न आग्रह गरे,’ पौडेल निकट एक नेताले भने, ‘रामचन्द्र दाइले एकपटक कांग्रेसको सभापति बन्ने इच्छा छ, यो पटक मलाई सहयोग गर्नुस् भनेर शेखरसँग आग्रह गर्नुभयो तर शेखरले तपाईं प्रधानमन्त्री बन्नूस्, म सभापति बन्छु भन्नुभयो ।’
वरिष्ठ नेता पौडेलले लामो राजनीतिक यात्रामा सधैं निष्ठापूर्वक काम गरेको भन्दै एकपटक सभापति बन्ने इच्छा रहेको बताएका थिए । तर कोइरालाले आफूले १३ औं महाधिवेशन लगत्तै सभापतिमा उम्मेदवारी दिने तयारी गरिसकेकाले पछाडि फर्कन नसक्ने जवाफ दिएका थिए ।
‘तपाईंहरुको उमेर, अनुभव र निष्ठाको राजनीतिका कारण प्रधानमन्त्री बनेर योगदान दिनुस्, तपाईंलाई आउने आम निर्वाचनमा पार्टीकातर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाएर अगाडि बढाउन तयार छु,’ कोइरालाले पौडेललाई भनेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरुको भेटघाट बाक्लिएको छ । कांग्रेस सभापति देउवाले नेतृत्वमा दोहोरिने बताइसकेका छन् भने संस्थापन समूहमै रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।