प्रधानमन्त्री ओलीले फेरी हाने माधव नेपाललाई झापड !
काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बरिष्ठ नेता माधव कुमार नेपाललाई अर्को झापड हानेका छन् । नेपालले भनेअनुसार २०७५ साल जेठ २ अघिको संरचनामा फर्कन तयार रहेको बताएका अध्यक्ष ओलीले अन्ततः उनलाई झापड हानेका हुन् ।
बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेलाई २०७७ फागुन २८ सम्म फर्काएर नेपाललाई नमिठो झापड हानेको हो । जबकि, माधव नेपाल पक्षले २०७५ जेठ २ मा फर्कनुपर्ने शर्त राख्दै आएको छ ।
बालुवाटारमा ओलीको अध्यक्षतामा बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादीका २० जनालाई केन्द्रीय कमिटीमा राख्ने निर्णय गरेको छ । त्यस्तै बादल लगायतका चार पूर्व माओवादी नेताहरुलाई स्थायीको कमिटी सदस्य बनाउने आयोजक समितिले निर्णय गरेको छ । एमालेको यो संरचना ०७७ फागुन २८ मा बसेको ओली समूहको बैठकले बनाएको संरचना हो । नेपाल पक्षले २०७७ फागुन २८ का निर्णयहरु खारेज हुनुपर्ने माग गर्दै आएको छ ।
एमालेको २०७५ जेठ २ को केन्द्रीय कमिटी २४१ सदस्यीय थियो । बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले बादलसहित पूर्व माओवादीका २० नेतालाई केन्द्रीय कमिटीमा राखेर एमालेको केन्द्रीय कमिटी २६१ सदस्यीय बनाएको छ ।
माधव समूहको आपत्ति
माधव नेपाल समूहका नेताहरुले भने अवैधानिक आयोजक समितिलाई स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरु थप गर्ने अधिकार नभएको भन्दै आपत्ति जनाएका छन् । माधव नेपाल समूहका नेता घनश्याम भुसाल महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएकाले त्यसले गरेको निर्णय मान्य नहुने बताउँछन् ।
‘कसलाई स्थायी कमिटीमा राख्ने र कसलाई केन्द्रीय कमिटीमा राख्ने भन्ने निर्णय महाधिवेशन आयोजक कमिटीले गर्नै सक्दैन,’ नेता भुसाल भन्छन्, ‘यो त मरिसकेको मान्छेले जिउँदोको बारेमा निर्णय गरेजस्तै भयो ।’
भुसाल अगाडि भन्छन्, ‘पूर्व माओवादीका नेताहरुलाई कमिटीमा राख्ने, नराख्ने निर्णय जेठ २ अघिको केन्द्रीय कमिटीबाट गर्नुपर्छ, अवैधानिक आयोजक समितिले त्यस्तो निर्णय गर्नै मिल्दैन ।’