काठमाडौँ महानगरपालिकाले किन भेटायो फ्रन्टलाइनरको तस्वीर ?
काठमाडौं – रत्नपार्कको आकाशे पुलको पर्खालमा बनाइएको फ्रन्टलाइनरको तस्वीर काठमाडौँ महानगरपालिकाले मेटाएको छ । कोभिड १९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र बुधबार काठमाडौं महानगरपालिकाले मेटाएको हो ।
काठमाडौँका मेयर विद्यासुन्दर शाक्यकै निर्देशनमा यो चित्र मेटेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले त्यही ठाउँमा अब आफ्नै बजेट खर्चेर अर्को चित्र बनाउने भएको छ ।
चार जना कलाकार र तीन जना स्वयंसेवकले ६ दिन लगाएर गत जेठ ३० मा निर्माण सकेको यो चित्र महानगरपालिकाले एकाएक मेटेपछि सर्वत्र आलोचना भइरहेको छ । कोरोनाभाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गर्ने चित्र बनाउन दुर्जाङ शेर्पालाई काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को वडा कार्यालयले अनुमति दिएको थियो ।
तर, वडा कार्यालयले त्यस्तो अनुमति दिन नपाउने भन्दै काठमाडौं मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको निर्देशनमा महानगरपालिकाले चित्र मेटाएपछि नयाँ चित्र कोर्ने योजना सार्वजनिक गरिएको छ ।
प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले वडा र महानगरबीच उचित समन्वय नहुँदा चित्र तयार हुन पुगेको दाबी गरे । चित्र मेटिएको स्थानमा महानगरले नयाँ चित्र बनाउने योजना बनाइसकेको पनि उनले जानकारी दिए ।
कलाकारले चित्र बनाउँदै गर्दा ज्ञवालीले पनि चित्रबारे सोही स्थलमा पुगेर सोधपुछ गरेका थिए । वडाको सिफारिश देखाएपछि आफूले महानगरमा छलफलका लागि आउन भने पनि थप छलफल नगरी चित्र बनाइएको दाबी ज्ञवालीको छ ।
‘अब सो स्थानमा काठमाडौं उपत्यकाको कलासंस्कृति झल्किने भित्ते चित्रहरु कोर्छौं’ उनले भने,’केही समय फ्रन्टलाइनरप्रति सम्मान जनाउने चित्र त्यहाँ रहिहाल्यो, अब त्यहाँ नयाँ चित्र बनाइनेछ । त्यसकै लागि चित्र मेटाएका हौं ।’
उनले महानगरका अन्य सम्भाव्य क्षेत्रमा पनि ललितकलामा आधारित चित्रहरु कोरिने बताए । त्यसका लागि महानगरपालिकाको सम्पदा विभागले काम गर्ने ज्ञवालीको भनाइ छ ।
चित्र कोर्न आगामी वर्षको बजेटमा रकम विनियोजन गर्ने महानगरको सम्पदा विभाग प्रमुख अर्चना शाक्यले बताइन् । आगामी वर्षको बजेटमा त्यसका लागि रकम छुट्याउन छलफल भइरहेको र केही समयपछि त्यसको टुंगो लाग्ने उनले बताइन् ।
कोरोना महामारीको समयमा शहरका अधिकांश मानिस घरभित्र बसेका बेला बाहिर निस्केर काम गर्नेहरुको सम्मानका लागि सो भित्ते चित्र बनाएको कलाकारहरु बताउँछन् । चित्रमा मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापकहरु देख्न सकिन्थ्यो ।
चित्रको परिकल्पनाकार डोजाङ शेर्पा महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहनेहरुको सम्मानका लागि राजधानीको मुटुमा अनुमति लिएरै चित्र मेटाएर महानगरपालिकाले फ्रन्टलाइनर, कला र मिहिनेतको अपमान गरेको बताउँछन् ।
‘वि विल राइज एगेन, र टुगेदर वि क्यानसहित के टाउन लेखेर हामीले यो चित्र विश्वले काठमाडौंको हो भनेर विश्वले चिनोस् भन्ने चाहेका थियौं’ उनले भने, ‘तर, महानगरपालिकाले एकाएक चित्र मेटिदिंदा साह्रै चित्त दुखेको छ । ‘
चित्र बनाउने क्रममा पहिलो दिन महानगरपालिकाबाट आएका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले चित्रबारे सोधेपछि वडाको पत्र देखाएको उनले बताए । त्यत्रो दिन केही नबोलेको महानगरपालिकाले कुनै पूर्वजानकारी समेत नदिई चित्र मेटेको भन्दै उनले त्यसले महानगर कलाको उपहास र अपमान गर्ने निकायको रूपमा चित्रित भएको बताए ।