प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच टेलिफोन वार्ता, के–के भयो कुराकानी ?
काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । एमाले संस्थापन पक्षलेृ बोलाएको बैठकमा उपस्थिति जनाउन प्रधानमन्त्री ओली नेपाललाई टेलिफोन गरेका हुन् ।
केन्द्रीय कमिटी बैठक पूर्वसन्ध्यामा अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी भएको हो। बिहीबार बेलुकी ओली र नेपालबीच कुराकानी भएको बालुवाटार निकट श्रोतको भनाई छ । दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ओलीले आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका थिए ।
तर उक्त बैठकमा सहभागी नहुने नेपाल पक्षको स्थायी कमिटी बैठकले निर्णय गरेपछि ओली थप सकस भएको थियो । बैठकमा सहभागिता र पार्टी एकतालगायत विषयमा अध्यक्ष ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको श्रोतको भनाई छ ।
आज पनि कुराकानीलाई निरन्तरता दिने तयारी रहेको नेताहरूले जानकारी दिएका छन्। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी भएको पुष्टि गरे ।
‘अध्यक्ष ओलीले पार्टी एकताका लागि प्रयास जारी राख्नुभएको छ,’ उनले भने । तामाङका अनुसार आज बिहान ११ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्छ। पार्टी कार्यालय थापाथलीमा ठाउँ अभाव हुने हुँदा बालुवाटारको खुला चौरमा टेन्टमा बैठक राखिएको उनको भनाई छ ।
नेपाल पक्षका नेता भीम आचार्यले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुरा भएको बताए । कुराकानीलाई निरन्तरता दिने सहमति भएको उनको भनाइ छ।
आज अध्यक्ष ओली र नेता नेपालबीच भेटघाट हुन सक्ने नेताहरूले बताएका छन्। सम्भवत आज फेरि टेलिफोनमा कुराकानी र भेट नै गर्ने तयारी रहेको नेताहरू बताउँछन्।अनौपचारिक स्रोतका अनुसार नेपाल समूह लचिलो भए केन्द्रीय समिति बैठक स्थगित गर्ने तयारी छ ।