यी हुन क्यानडा पठाईदिन्छु भनि करोडौँ ठगी गर्ने व्यक्ति

शुक्रबार, १८ असार २०७८

काठमाडौँ – क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । काभ्रे पाँचखाल न.पा. वडा नं. ४ तामाघाट स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १० नयाँबानेश्वर बस्ने वर्ष २१ बर्षिया प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं. ७, रानीगञ्ज बस्ने वर्ष ३० को यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी झुक्याई प्रलोभनमा पारी रकम लिएपछि फरार भएका थिए ।

बस्नेतसँग रु. १७,००,०००/(अक्षरुपी सत्र लाख रुपैयाँ मात्र) रकम लिई आलटाल गरी पछि सम्पर्क विहिन भई फरार भएको भनि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । उनकै उजुरीका आधारमा प्रहरीले खोजतलास गर्दा काभ्रेबाट पक्राउ गरेको महानगरिय अपराध महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले बताए ।

बस्नेतले यही बैशाख १३ गते प्रहरीमा उजुरी दिएकी थिइन् । महाशाखाको विशेष टोलीले असार १७ गते बिहीबार काभ्रे जिल्लाको बनेपा न.पा. वडा नं. २, दाहालगाउँबाट पक्राउ गरेको कोइरालाको भनाई छ ।

साथै, अधिकारीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनी झुक्याई प्रलोभनमा पारी करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत पाइएको प्रहरीले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान गर्नका लागि महाशाखाले महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ । प्रहरीले उसबाट कोही पीडित भएको भए महाशाखामा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।