गम्भीर संकटमा शंकर पोखरेल !

शुक्रबार, १८ असार २०७८

काठमाडौँ – लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल संकटमा फसेका छन् । आफ्नै पार्टीका तीन सांसदले साथ छाडेपछि पोखरेलले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका सांसदलाई सरकारमा सहभागी गराएर सरकार जोगाएका थिए ।

तर, आज जसपाबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले राजीनामा गरेपछि मुख्यमन्त्री पोखरेललाई फेरि ठूलो झड्का लागेको छ।

भौतिक पूर्वाधार राज्यमन्त्री रायमाझीले मन्त्री पदबाट राजीनामा दिएर जसपा उपेन्द्र यादव पक्षमा लागेकी छन् । यसले फेरि लुम्बिनी सरकारमा हलचल मच्चिएको छ ।

उनी वैशाख १९ मा सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पछि पोखरेल नेतृत्वको सरकारमा सहभागी भएकी थिइन् । सरकारमा सहभागी भएको दुई महिनापछि राजीनामा दिएर यादव पक्षमा लागेपछि पोखरेल सरकार स्पष्ट अल्पमतमा परेको छ ।

जसपा (यादव पक्ष) का संसदीय दलका नेता सहस्रराम यादवले रायमाझी पुरानै ठाउँमा फर्किएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीको माननीयज्यू बीचमा केही समय हड्बडाउनु भयो । पार्टीले कारबाही पनि गर्‍यो अहिले बुझेर पुरानै ठाउँमा फर्किनुभयो ।’

६ सांसद रहेको जसपाका महन्थ ठाकुर पक्षका चार जना सरकारमा सहभागी थिए । जसपा नेता मोहम्मद इस्तियाक राईले अन्य मन्त्रीहरू पनि आफूहरूसँग आउनेबारे छलफल भइरहेको बताए ।

यसले प्रदेश सरकारको बजेट असफल हुने संकेत देखिएको छ । विपक्षी गठबन्धनले बजेट असफल गराउने रणनीति बनाएको छ । असार १ गते ल्याएको बजेटमाथि विवादका कारण छलफल हुन सकेको छैन ।

भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेय, उद्योग, पर्यटन तथा वन मन्त्री कल्पना पाण्डे र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव सरकारमै छन् ।

८३ सदस्य प्रदेशसभामा एमालेका ३८ र जसपाका ठाकुर पक्षमा तीन जना गरी अब ४१ जना सांसद भए । प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक हुन्छ ।