मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदनको ओइरो, दुईदिनमै रच्यो इतिहास

शुक्रबार, १८ असार २०७८

काठमाडौँ – मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदनको ओइरो लागेको छ । आज दोश्रो दिन आईपीओ भर्नेमा यो कम्पनीले इतिहास रचेको छ ।

शुक्रबार दिउसो ३ बजेसम्ममा लघुवित्तको आईपीओमा ११ लाख ७९ हजार ७१२ जनाले आवेदन दिएका हुन्।लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुनेछ।

निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन्। आईपीओ पर्ने सम्भावन न्यून रहेपनि आवेदन गर्नेको ओइरो भने अझै छ। असार १७ गतेदेखि बिक्री खुला भएको लघुवित्तको आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ। त्यसबीचमा लघुवित्तको आईपीओ आवेदन गर्नेको संख्या अझै बढ्ने निश्चत छ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार लघुवित्तको आइपीओमा १ करोड ५७ लाख २० हजार १२० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताकाको ४३।२५ गुणा बढी हो। लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ।

यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०।५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ।