ओलीको टेलिफोन पछि ताते माधव नेपाल, समिट होटलमा भयो सहमति

शनिबार, १९ असार २०७८

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार लामो टेलिफोन कुराकानी भएको छ । शीर्ष तहको कुराकानीपछि पार्टी फुटबाट जोगिएको छ ।

फोन वार्ता भएपछि दोश्रो तहका नेताहरु सहमतिका लागि बैठक बसेका थिए । उनीहरुको बैठकले लगभव सहमति गरेका छन् । दुबै समूहका ६ जना नेताहरुको ललितपुरको समिट होटलमा भएको वार्ताले निष्कर्ष निकाले छ । प्रधानमन्त्री ओलीले यसको अन्तिम रुप दिएपछि हस्ताक्षर गरिनेछ ।

टेलिफोन कुराकानीमा बरिष्ठ नेता नेपालले सहमति जुटाऔं, परिस्थितिलाई सुधारौं र पार्टीलाई सम्हालौँ भन्ने प्रस्ताव राखेका थिए । जवाफमा अध्यक्ष ओलीले ‘मैले पनि त कहाँ बिगार्न खोज्याछु र’ भनेका थिए । स्रोतका अनुसार दुई नेताबीच शनिबार फोनमा लामै कुराकानी भएको थियो ।

त्यसपछि दोस्रो तहका नेताहरुलाई समाधानको उपाय खोज्न लगाउने दुबै नेताबीच सहमति जुटेको छ । ओली र नेपालको फोन कुराकानी लगत्तै समिट होटलमा ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले माधव पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्यसँग छलफल गरेका थिए ।

शुक्रबार बालुवाटारमा बसेको ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठकले माधव नेपाल समूहलाई शेरबहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन तीन दिनको अल्टिमेटम दिएको विषयमा समिट होटलमा कुराकानी भएको एक नेताले बताए ।

देउवाको समर्थनमा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर तीन दिनभित्र फिर्ता लिन ओली पक्षले माधव नेपाल पक्षलाई शुक्रबार नै अल्टिमेटम दिइसकेको छ । माधव नेपाल पक्षका नेताहरुले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नहुने बताउँदै यसबारे सर्वोच्च अदालतले जे निर्णय गर्छ, त्यहीअनुसार अघि बढ्नुपर्ने अडान राखेका छन् । यसबारे ‘केपी ओलीसँग कुरा गर्छौं’ भन्दै ओली पक्षका तीन नेता समिट होटलबाट बाहिरिएका छन् ।

हस्ताक्षर फिर्तालाई सहमतिको पूर्वशर्त नबनाउन शंकर पोखरेल, सुवास नेम्वाङ लगायतका नेताहरु सहमति देखिएको र अब उनीहरुले यसमा अध्यक्ष ओलीलाई कन्भिन्स गर्ने समिट होटलमा समझदारी बनेको एक नेताले दाबी गरे ।

शुक्रबारदेखि सुरु भएको केपी ओली पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बालुवाटारमा जारी छ । ओली पक्षले हस्ताक्षर फिर्तालाई पार्टी एकताको पहिलो शर्त बनाएको छ भने माधव पक्षले चाहिँ हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने बताउँदै जेठ २ को संरचनामा केन्द्रीय कमिटीको बैठक बस्नुपूर्व प्याकेजमा हुनुपर्ने अडान राखेको छ ।