कक्षा १२ को परिक्षा भौतिक रुपमै हुने, परिक्षा मिति तोकियो
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले गरेको उक्त निर्णय स्वीकृतका लागि सरकारसँग मागेको छ ।
बोर्डले भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै परीक्षाका लागि अनुमति माग गरेको जनाएको छ । बोर्डका अध्यक्ष प्रा।चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने बताए ।
अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट पारे । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ ।
त्यस्तै ,कक्षा ११ को परिक्षा भने स्कुलले नै लिने भएको छ । आन्तिरिक मूल्याङ्कनबाट कक्षा ११ को परिक्षा लिने व्यवस्था यसअघि नै गरिसकिएको छ । बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेर यस्तो व्यवस्था गरेको थियो । सो कार्यविधिमा विद्यालयले आफैले मिति तय गरेर परीक्षा सञ्चालन गर्न पाउने अधिकार दिइएको थियो ।
कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परक्षिाको मिति र समयका बारेमा छिटो छरितो माध्यमबाट बोर्डका सम्बन्धित कार्यालयहरुलाई जानकारी गराउनुपर्ने स्पष्ट गरेको छ ।
कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा लिन पाउने, विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने र परीक्षाका लागि प्रश्नपत्र र उत्तरकुञ्जिका पनि विद्यालय आफैले तयार गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
यस्तै, त्यसका लागि बोर्डले तोकेको मापदण्ड पालना गर्नुपर्ने छ । कक्षा ११ को मूल्याङ्कन अक्षराङ्कन पद्धतिबाट नै हुने र कक्षा ११ मा जुन विषय अध्ययन गरेको हो विद्यार्थीलाई सोही विषयमा कक्षा १२ मा अध्ययन गर्न दिइने व्यवस्था कार्यविधिमा गरिएको छ ।