१४ औं महाधिवेशनबारे कांग्रेसमा लफडा, गच्छदारका कारण झन चर्कियो सदस्यता विवाद
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौमा हुँदैछ । तर उक्त महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरुको अझै टुङ्गो लागेको छैन् ।
आपसी विवादका कारण महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएको छ । महाधिवेशन कार्यतालिका अनुसार असार २० गते अर्थात आज क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यता विवाद टुंग्याएर सदस्यता सूची केन्द्रीय समितिलाई बुझाउनुपर्ने थियो ।
तर छानबिन समितिले अहिलेसम्म ३० जिल्लाको मात्र सदस्यता विवाद समाधान गरेर अन्तिम रुप दिएको छ । बाँकी ४७ जिल्लाबारे निर्णय लिनै बाँकी छ । त्यसमध्ये कतिपय जिल्लामा समायोजन विवादका कारण क्रियाशील वितरणको काम जारी नै छ ।
बिजयकुमार गच्छदारको पार्टीका सदस्यहरु एकिन गर्न नसकिएकाले तराईका अधिकाँश जिल्लाहरुको विवाद कायमै रहेको हो । गच्छदारले नेतृत्व गरेको साविकको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का पार्टी सदस्य कति थिए भनेर विवाद कायमै छ । उनीहरुले फर्जी सदस्य बनाएपछि विवाद भएको हो ।
सदस्यता छानबिन समितिले गौशालास्थित नेपाल–भारत मैत्री भवनमा बसेर काम गरिरहेको छ । कार्यतालिका अनुसार आज क्रियाशील सदस्यताको सूची केन्द्रीय समितिमा बुझाउन सक्ने अवस्था नरहेको समितिका सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
‘विवाद समाधानको विधि र मापदण्डबारे पदाधिकारी बैठकले नै ढिलो गरी निर्णय गरेकोले केही समय लाग्ने देखियो । ३० जिल्लाका सकेका छौं, सबै टुंग्याउन अझैं हप्ता दसदिन लाग्छ होला,’ पौडेलले भने ।
उनले पदाधिकारी बैठकको निर्णय अनुसार सदस्यता उजुरीबारे छानबिन गर्दै टुंगो लगाइएको बताए । ‘पार्टीमा जुन सहमति बनेको छ त्यसकै आधारमा काम भइरहेको छ । जहाँ विवाद बल्झन्छ, टुंग्याउन गाह्रो पर्छ त्यो विषय पुनः शीर्ष तहमा जानेछ,’ पौडेलले भने ।
कांग्रेस केन्द्रीय समितिको २०७७ फागुन ६ गतेको बैठकले रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समिति बनाएको थियो । समितिमा केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना, प्रदीप पौडेल, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।
महाधिवेशन कार्यतालिका अनुसार आज छानबिन समितिले केन्द्रीय समितिलाई, असार ३० भित्र केन्द्रीय समितिले निर्वाचन समितिलाई सदस्यता बुझाउनुपर्नेछ । केन्द्रीय सभापतिले हस्ताक्षर गरेर सदस्यता सूची निर्वाचन समितिलाई बुझाउने समय असार ३० सम्म भएकोले सो अवधिसमेत छानबिन समितिले उपयोग गरेर असार ३० भित्र सदस्यता टुंग्याउने तयारी गरेको छ ।
त्यस्तै, काठमाडौँ जिल्लाका धेरैजसो क्षेत्रमा पनि सदस्यता विवाद देखिएको छ । विवाद हुनुमा एकले अर्कालाई आरोप लगाउँदै आएका छन् । क्षेत्र नम्वर ७ का सभापति मुकुन्द रिजालले छानविन समितिमाथि नै प्रश्न उठाए ।
‘छानविन समिति राजाको पालाको जस्तो हुकुमी शैलीले अघि बढेको छ यसमा मेरो आपत्ति छ, पार्टीको विधान, नियमावली र परिपत्रलाई मिच्ने अधिकार उसलाई छैन’ रिजालले भने ‘ हामीले इन्ट्री गरेको नाम नै वैध हो, मुहार हेरेर क्रियाशीलताको टुंगो लगाउने काम हुँदैछ, यो गलत छ ।’ उनले काठमाडौँमा नयाँ र पुरानो गरी ३ हजार क्रियाशील सदस्य रहेको बताए ।
उनले गुटको आधारमा क्रियाशीलता दिन खोज्नुले पार्टीलाई संकटमा पारेको भन्दै आपत्ति जनाए । उनले आफूले केन्द्रमा नाम पठाउँदा कसैलाई पनि भेदभाव नगरेको र मापदण्ड पुगेकालाई सिफारिस गरेको स्पष्ट पारे ।