नेपाली कांग्रेसले तोक्यो प्रदीप पौडेललाई प्रवक्ता

आइतबार, २० असार २०७८

काठमाडौँ – नेपाली काँग्रेसले पार्टी केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेललाई प्रवक्ता तोकेको छ । क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसमेत रहेको पौडेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

काँग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समितिका सदस्य पौडेललाई समितिको प्रवक्ताको जिम्मेवारी दिइएको छानविन समितिका सचिव केशव रिजाले जानकारी दिए ।

समितिका कामकारवाही बारे औपचारिक धारणा सार्वजनिक गर्न पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रमेश लेखक संयोजक रहेको छानबिन समितिमा पौडेलसहित आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेका छन् ।

समितिले असार मसान्तभित्र सदस्यता छानविन टुङ्ग्याएर केन्द्रीय समितिलाई अन्तिम सूची बुझाउने बताएको छ । लामो समयदेखि कांग्रेसमा क्रियाशील सदस्यता विवादले जरा गाडर बसेको थियो । यो समस्याकाृ समाधान गर्नका लागि समिति बनाइएको थियो ।

समितिले आजै सदस्यता छानविन गरी बुझाइ सक्नुपर्ने म्यानडेट पाएको थियो । तर त्यो समयमा विवाद समाधान गर्न नसकेपछि त्यो समयलाई सारेर असार मसान्त पुर्याइएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने विश्वास व्यक्त गरेका छन् । र्आइतवार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानको पुनर्जीवन दिने अपेक्षा गर्नुपर्ने बताएका छन् ।

प्रवक्ता शर्माले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दूरगामी प्रभावलाई पनि केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरूको हातमा रहेको बताएका छन् ।

‘न्यायको फैसला गरिँदै गर्दा संविधानको चिसा अक्षरहरूलाई मात्रै होइन । त्यसले समाजलाई पार्ने दूरगामी प्रभावलाई पनि केन्द्रमा राखिन्छ । त्यो राख्ने कर्तव्य अहिले पनि सम्मानित संवैधानिक इजलासका न्यायमूर्तिहरूको छ,’ शर्माले भने ।

उनले लोकतन्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्ने बताएका छन् । शर्माले विद्यार्थी आन्दोलनले समानता र सामाजिक रूपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको समेत औंल्याएका छन् ।

‘लोकतन्त्रका लागि लोकतान्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्छ । विद्यार्थीहरू बेरोजगारको पीडालाई सम्बोधन गर्ने भनेर जाँदै गर्दा उनीहरूभित्र समानताको समाजका लागि सामाजिक रूपान्तरणको मुद्दा विद्यार्थी आन्दोलनको मुद्दा बन्नुपर्छ,’ उनले भने ।