प्रधानमन्त्रीसँग अब तीन जना मन्त्री मात्र बाँकी रहने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब जम्मा तीन जना मात्र मन्त्री बाँकी रहने भएका छन् । सर्वोच्च अदालतले पछिल्लो पटक नियुक्त गरेका मन्त्रीहरुको पद खारेज गरिदिएपछि बाँकी रहेका ४ जना मन्त्री मध्य फेरी १ जनाको मन्त्री पद खारेज हुने भएको छ ।
तनहुँ व्यास नगरपालिका घर भई हाल बबरमहल बस्ने रुपा सुनारले आफूमाथि जातीय छुवाछूत गर्नेविरुद्ध कारवाही गर्ने माग गर्दै सर्वोच्च अदालतमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध रिट निवेदन दायर गरेपछि उनको पद खारेज हुने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठ, कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधान, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाई आइतबार सुनारले रिट दायर गरेकी हुन् । उनको रिट निवेदनमा मन्त्रीको राजीनामा मागिएको छ ।
रिट निवेदनमा कोठा भाडामा लिने÷दिने मौखिक सहमति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू दलित समुदाय कामी थरको भन्ने थाहा पाएपछि कोठा दिन अस्वीकार गरेको उल्लेख छ। संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा छुवाछूत कसुरको कसुरदारलाई कानूनबमोजिम कारवाही तथा मेरो मौलिक हकको संरक्षणका गर्न आदेशको माग रिट निवेदनमा गरिएको छ।
शिक्षामन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले हुँदा निजलाई पदबाट हटाई जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐनबमोजिम कारवाहीको मागसमेत रिट निवेदनमा गरिएको छ।
घरबेटीको उक्त कार्यबाट आफूलाई आत्मसम्मान तथा मर्यादामा चोट पुगेको हुँदा विपक्षीविरुद्ध जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार कारवाही गर्न माग गरिएको छ।
अदालतले मन्त्री श्रेष्ठलाई पदबाट बर्खास्त गरेको खण्डामा मन्त्रीपरिषदमा प्रधानमन्त्री सहित गृहमन्त्री विष्णु पौडेल, कानुनमन्त्री लिलानाथ श्रेष्ट र भौतिक पूर्वाधार मन्त्री बसन्त कुमार नम्वाङ बाँकी रहने छन् ।