बहुप्रतिक्षित संसद विघटन मुद्धाको फैसला आजै आउन सक्ने
काठमाडौँ – संसद् विघटन मुद्धामा सबैको ध्यान केन्द्रीत छ । संसद् विघटन विरुद्ध परेको मुद्दामाथि संवैधानिक इजलासमा पक्ष र विपक्षका वकिलको बहस सकिएको छ ।
असार ९ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा सोमबार रिट निवदेक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका वकिलहरूले जवाफी बहस गरेका थिए ।
आज बरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले जवाफी बहस गरेका हुन् । आजको बहसमा हरिहर दाहालले सुरु गरेका थिए ।
पक्ष र विपक्ष दुवैले आ–आफ्नो तर्फबाट तर्क प्रस्तुत गरेका छन् । आइतबार सभामुख अग्निप्रसाद सापकोटाका वकिलहरुले बहस गरेका थिए ।
अब खाजा समयपछि एमिकस क्युरीका सदस्यले इजलासमा आफ्नो राय पेस गर्नेछन् । एमकिस क्युरीमा रहेका चार जनालाई दुई घन्टा समय छुट्याइएको छ ।
निर्धारित समयमै उनीहरूको पनि बहस सकिए संवैधानिक इजलासले आजै मुद्दामा निर्णय सुनाउन सक्छ । बहस लम्बिएमा भोलि फैसला सुनाउने कार्यतालिका पनि हुनसक्छ ।
एमिकस क्यूरीको राय सुनेपछि पनि सर्वोच्चले आजै फैसला नदिएर फैसला सुनाउने अर्को कुनै दिन तोक्न पनि सक्छ ।
रिट निवेदन पक्षका वकिलहरुले संसद् पुनःस्थापना मात्रै नभइ सर्वोच्चबाटै विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।
तर, विपक्ष अर्थात सरकार पक्षका वकिलहरुले भने देउवाले दावी गरेको मत नै नक्कली भएकाले सर्वोच्चले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दावी गरेका छन् ।