सकियो एमाले कार्यदलको बैठक, यी विषयमा भयो छलफल
काठमाडौं – नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति हुन सकेन ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए ।
बैठक बुधबार पुनः बस्ने गरी सकिएको छ ।
मंगलबारको बैठकमा आज बुँदागत छलफल भयो । छलफल जारी रहन्छ । टुंगिन पनि सक्छ नटुंगिन पनि सक्छ ।’ बैठकपछि वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहकोतर्फको कार्यदलका सदस्य रघुजी पन्तले जानकारी दिए ।
कार्यदलमा हामी बुँदागत रुपमा छलफल गर्यौ । तर, हाम्रो पार्टीको आन्तरिक समस्यालाई गम्भीर रूपमा विश्लेषण गरेर समाधानतर्फ हामी सबैले प्रयास गर्ने सहमति भएको छ । त्यसका लागि भोलि पनि बैठक बस्ने निर्णय गरेका छौँ । सम्भवतः भोलिबाट जुन–जुन विषयमा छलफल गर्नुपर्ने हो, त्यस विषयमा छलफल गर्नेछौँ । एमालेलाई कसरी एकताबद्ध बनाउन सकिन्छ, कसरी समाधान गर्ने भन्ने मूल विषय रहेको छ,” पन्तले बैठकपछि भने ।
उनले धेरै लामो समयदेखि कसरी राष्ट्र, जनता, लोकतन्त्र लगायतका विषयमा ध्यान दिने भन्ने विषयमा विभिन्न नेताहरूबीच कुरा भइरहेको पनि बताए । अब त्यसै अनुसार कुरा गरेर अघि बढ्ने पन्तको भनाइ छ ।
त्यसैगरी कार्यदलका सदस्य गोकर्ण विष्टले पनि आजको बैठक सकारात्मक रहेको बताए । “एमालेभित्र देखिएका अन्तरविरोधको समाधान खोज्न कार्यदलको काम सुरु गरेको छ । हार्दिकताका साथ छलफल सुरु भएको छ । पार्टी भित्रका समस्यालाई पार्टीभित्रै समाधान खोज्ने र निष्कर्ष निकाल्ने छौँ,” उनले भने ।
यसअघि अनौपचारिक कुराकानीमा भएका र सहमति नजिक पुगेका विषयको रिपोर्टिङ भएको उनले बताए । विष्टका अनुसार अबका बैठकमा सहमति नजिक पुगेका विषयमा समझदारी गर्ने प्रयास हुने छ । उनले आशावादी बन्ने संकेत देखिएको बताए ।