देउवाको सपथ आजै, देउवासँगै ७ जना मन्त्रीले लिदैँछन् सपथ

मंगलबार, २९ असार २०७८

काठमाडौँ – सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेअनुसार राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजे सपथग्रहण कार्यक्रम राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले जनाएअनुसार ४ बजेलाई सपथ खुवाउने तयारी गरिएको छ ।

र, सोहीअनुसार पत्राचार गरिएको पनि उनले जनाए ।

सर्वोच्चको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा आज पाँचौपटक प्रधानमन्त्री बन्दैछन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ६३ सिट मात्र भए पनि सर्वोच्चको फैसलापछि देउवाले प्रधानमन्त्रीमा शपथ लिन लागेका हुन् ।

उनलाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेशको माग गर्दै सत्तारुढ एमालेसहितका बहुमत सांसद सर्वोच्चमा उपस्थित भएर रिट दायर गरेका थिए ।

विपक्षी गठबन्धनमा रहेका पाँच दलमध्ये माधवकुमार नेपालले पार्टी एकताको पक्षमा लाग्ने बताएका छन् भने बाँकी दलका तर्फबाट सात सदस्यीय मन्त्रिपरिषद् प्रस्ताव देउवाले गरेका छन् ।

आफ्नो पार्टीमा पौडेल समूहसहितको प्रतिनिधित्व गराएर दुई मन्त्री बनाउन लागेका देउवाले माओवादीलाई पनि दुई मन्त्री दिन आग्रह गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टीलाई कम्तिमा एकजना दिएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

सुरुदेखि नै ५ दलीय गठबन्धनमा आवद्ध भएको राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा सहभागी गराउने देउवाको तयारी छ ।

सरकारमा सहभागी हुने र नाम दिने विषयमा भने सम्बन्धित दलहरुले बैठकबाट निर्णय गर्न बाँकी नै छ ।

जसपाका तीन नेता उपेन्द्र यादव, डा। बाबुराम भट्टराई र अशोक राईको बैठक अहिले केहिबेरमा बस्दैछ । शीर्ष नेताको बैठकपछि उपलब्ध कार्यकारिणी समितिको बैठक बस्ने नेता इस्तियाक राईले जानकारी दिए ।