रातारात कोटेश्वर पुगे प्रचण्ड, आजै नयाँ घोषणा हुने

मंगलबार, २६ साउन २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक कोटेश्वर पुगेका छन् । एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रचण्ड साँझपख कोटेश्वर पुगेका हुन् ।

एमाले एकताको सम्भावना सकिएको भनेर नेपाल पक्षले निष्कर्ष निकालेकै बेला छलफलका लागि प्रचण्ड माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । प्रचण्ड र माधव नेपालबीच पछिल्ला केही सातायता दिन विराएर वा दिनहुँ वार्ता भइरहेका छन् ।

माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रिपरिषद विस्तार समेत प्रचण्डले रोकेर राखेका छन् । एमाले विभाजनका लागि कानूनी प्रक्रियामा समेत सघाउने आश्वासन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले दिइसकेका छन् ।

उनलाई मन्त्रीपरिषद विस्तारमा सघाउने भन्दै कोटेश्वर पुगेको भएपछि आज संसदमा एमाले अध्यक्ष ओलीले विभिन्न खालका आरोप लगाएका विषयमा पनि छलफल भएको बुझिएको छ । एमालेमा मन्त्री बन्नेहरुको लिष्ट तयार भइसकेको छ ।

नीतिगत निर्णय गर्न मात्र बाँकी रहेकाले नेपालले आफू निकटका नेताहरुलाई बोलाएर छलफल गरेपछि निश्कर्षमा पुग्ने बचन दिएको बुझिएको छ । गोकण विष्टको नेतृत्वमा माधव समूह सरकारमा सहभागी हुने यसअघि फाइनल भइसकेको छ ।

यद्यपी विष्टले यसमा सहमति जनाइसकेका छैनन् । विष्टसहित बेदुराम भुषाल, रामकुमारी झँक्री, मेटमणी चौधरी, किसान श्रेष्ठ र विरोध खतिवडा र मन्त्री बन्ने छन् ।