माधव नेपालले खोल्ने नयाँ पार्टीको टुङ्गो लाग्यो, पार्टीको नाम र चुनाव चिन्ह यस्तो
काठमाडौँ – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अन्ततः नयाँ पार्टी खोल्ने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता नेपाल समूहले नयाँ पार्टी खोल्ने प्रक्रिया अगाडि बढाएका छन् ।
एकताको ढोका बन्द भएको निष्कर्षसहित उनीहरुले नेकपा (समाजवादी केन्द्र) नामको पार्टी चलाउने तयारी छ । निर्वाचन आयोगमा नाम जुधेको खण्डमा अगाडी पछाडी केही थपेर भएपनि यही नामलाई ब्राण्डिङ गर्ने उनीहरुको जोड छ । चुनाव चिन्हको टुङ्गो लागेपनि सार्वजनिक गरिएको छैन ।
अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधनलगायतका प्रक्रिया अघि बढाएपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी गरेको हो।
‘अहिले माधव नेपालले आफू पक्षका केन्द्रीय सदस्यलाई फोनबाट विद्रोहका लागि तयार रहन र त्यहीअनुसार संगठन बनाउन निर्देशन दिइरहनुभएको छ’, नेपाल निकट एक केन्द्रीय सदस्यले भने। ओलीले एमालेभित्र छिर्न नदिएपछि नेपालले वैकल्पिक पार्टी निर्माणको बाटो अघि बढाउन थालेका हुन्।
‘अहिलेका लागि समानान्तर कमिटी बनाउनेमा विशेष जोड छ तर यही स्थितिमा कहिलेसम्म रहने भन्ने कुरा पनि हुन्छ। अध्यक्ष केपी ओलीजीले एकताको ढोका करिबकरिब बन्द गर्नुभयो भन्ने नेता माधव नेपालको निष्कर्ष छ’, नेपाल निकट जीवनराम श्रेष्ठले भने।
नेपाल पक्षले साउन २१ र २२ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीका कारण पार्टी एकताको सम्भावना न्यून भए पनि अन्तिम अवस्थासम्म एकताका पक्षमा पहल गर्ने निर्णय गरेको थियो । तर ओलीले एकपक्षीय रुपमा विधान संशोधन प्रक्रिया अघि बढाएपछि नेपाल समूह पनि विद्रोहको तयारीमा अघि बढेको हो। नेपाल पक्षीय बैठकको निर्णयमा ‘पार्टी एकताको अनिवार्यतालाई हृदयंगम गर्दै तत्कालका लागि विभाजनको बाध्यात्मक नीति’ अवलम्बन नगर्ने र अन्तिमसम्म पार्टी एकताकै पहल गर्ने उल्लेख छ।
बैठकका अधिकांश वक्ताले यथास्थितिमा एकता गर्न नहुने भन्दै ससम्मान एकता हुनुपर्ने धारणा राखेका भए पनि नेता नेपालले विघटित कार्यदलका सदस्यलाई चाँडै नै विवाद निरुपण गर्न र ओली पक्षसँग कुराकानी टुंग्याउन आग्रह गरेका थिए। ‘कार्यदलका साथीहरूलाई मैले भनेको छु संवादको विषय चाँडै टुग्याउनुस् नत्र अघि बढ्नुपर्ने हुन्छ’, बैठकमा नेपालले भनेका थिए।