पढेर होइन परेर सिकिन्छ जिन्दगी
काठमाडौँ – यो पुरानो कथा हो । उपनिषदको समयको । श्वेतकेतु गुरुको आश्रममा ब्रह्म खोज्न गए । एक ऋषिको आश्रममा पुगेर उनले आफू ब्रह्मलाई जान्न आएको बताए ।
गुरुले सोधे, ‘साँच्चै नै तिमीलाई ब्रह्मका बारेमा जान्नु छ ?’ श्वेतकेतुले भने, ‘हो ।’ गुरुले सल्लाह दिए, ‘त्यसो भए यहाँ आश्रममा आउनुपर्ने आवश्यकता किन पर्यो ? यदि ब्रह्मलाई जान्ने हो भने यहाँ आउनु आवश्यक छैन । यहाँ त हामी विचार सिकाउँछौं । शास्त्र सिकाउँछौँ ।’
श्वेतकेतुले सोधे, ‘त्यसो भए म कहाँ जाऊँ त ?’ गुरुले उपाय बताए, ‘यदि तिम्रो हिम्मत छ र तिमी जीवनलाई दाउमा लगाउन तयार छौ भने यस आश्रममा भएका चार सय वटा गाई लिएर जङ्गल जाऊ । टाढा जगलमा लैजाउ, जहाँ कुनै मनुष्य नआऊन् । मनुष्यका कुन आवाज आइनपुगोस् । त्यहाँ तिमीले एउटै काम गर्नु, होशपूर्वक गाईको सेवा गर्नु । कुनै विचार नगर्नु । जब यी गाई चार सयबाट एक हजार पुग्नेछन् फर्केर आउन ।’
श्वेतकेतुले गुरुको प्रस्ताव स्वीकार गरे । उनी चार सय वटा गाई लिएर गए । ती गाई कहिले हजार पुग्नेछन्, कति बच्चा बच्नेछन्, कति वर्षमा हजार पुग्नेछन् उनलाई केही थाहा थिएन । श्वेतकेतु गाई लिएर निकै टाढाको वनमा गए, जहाँ कुनै मनुष्य थिएन । मनुष्यको विचार थिएन । त्यहाँ कि गाई थिए कि उनी । केही दिन घर–परिवार, सुनेका, बुझेका आदि पुराना विचार उनको मनमा आइरहे होलान् ।
यदि विचारलाई नयाँ भोजन मिलेन भने पुराना विचार छिट्टै नष्ट हुन्छन् । जसरी पुराना सिक्का केही समयपछि बिग्रेर काम नलाग्ने हुन्छन्, त्यसको ठाउँ नयाँ सिक्काले लिन्छ र सिक्का सधैं काममा आइरहन्छ त्यस्तै चित्तमा, भएका पुराना विचार बिग्रिँदै जान्छन् र नष्ट हुन्छन् । तिनको ठाउँ नयाँले लिन्छ ।
तपाईं थोरै याद गर्नुहोस्, दस वर्ष पहिला जुन विचार तपाईंभित्र चल्ने गर्थ्यो अब चल्दैनन् होला । हिजो जे विचार गर्नुहुन्थ्यो, आज गर्नुहुन्न होला । पुराना विचार हट्छन्, नयाँ आउँछन् । श्वेतकेतु गए । उनले नयाँ विचारको पोषण गरेनन् । उनी चुपचाप बस्थे । उनको कामै यस्तो थियो, जसमा धेरै विचार गर्नुपर्ने आवश्यकता पर्दैन थियो । गाईको सेवा गर्थ, चुपचाप बस्थे । तारा हेरेर बस्थे । चन्द्रम–(सूर्य हेर्थे । जङ्गल हेर्थे । झरनामा नुहाउँथे । सुत्थे । गाईको सेवा गर्थे । नियमित एउटै काम गर्दै राति विश्राम गर्थे।
दिन आए, महिना आए, वर्ष आए । सबै गए । बिस्तारै बिस्तारै उनको विचार शान्त हुँदै गयो । क्रमशः विचार त कम हुँदै गए, विचार त विलीन भए तर बोध पूरै थियो । काम गर्थे, सजग थिए । चौबीसै घण्टा जागा हुन्थे । आफ्नो होस राखिरहेका हुन्थे । कति वर्ष बित्यो थाहै छैन । कहिले गाई हजार पुगे, थाहै छैन ।
कथा निकै मीठो छ । श्वेतकेतुले सङ्ख्या भुलेको कथा । विचार भुल्ने व्यक्तिलाई सङ्ख्या कसरी याद हुन सक्छ ? उनले गाईको सङ्ख्या भुले । उनलाई गाई कहिले हजार पुगे यादै भएन। कथाले भन्छ, ती गाईले जम्मा भएर भने, ‘श्वेतकेतु । अब हामी हजार भयौँ । हामीलाई फिर्ता लैजाऊ । आश्रम फर्कौ ।’
उनी आश्रम फर्किए। हजार वटा गाई गाउँको छेउमा पुगे । केही गाईहरूको घाँटीमा झुण्ड्याइएको घण्टी बज्न थाल्यो र धूलो उड्न थाल्यो। हजार वटा गाईले गाउँमा प्रवेश गरेपछि श्वेतकेतु फर्किएको समाचार पूरै गाउँमा फैलियो । सबैले हजार गाई फर्किए भन्न थाले ।
आश्रमबासी सबै आश्रमबाहिर जम्मा भए। आश्रमका गुरुले भने, ‘एक हजार एक गाई फर्किरहेका छन उनका गुरुले एक हजार गाई भनेनन्, एक हजार एक गाई भने ।
उनले भने, ‘एक हजार गाईको बीचम श्वेतकेतु, अब ऊ मनुष्य रहेन । अब ऊ, सरल र शान्त भयो । साँच्चै नै मानिसहरूले एक हजार एक गाई फर्किन देखे । श्वेतकेतु मनुष्यजस्तै भएर फर्किएका थिएनन् ।’
बथानमा गाई नै भएर फर्केका थिए । गाईहरूले उनला धकेलिरहेका थिए । तिनैको बीचमा, भीडमा उनी आइरहेका थिए । गुरुले आफ्नो शिष्यसँग भने, ‘ब्रह्मज्ञानी कस्ता हुन्छन भनेर हेर्न चाहन्छौ ? गाईको बथानमा आइरहेको व्यक्तिले ब्रह्म प्राप्त गरेर फर्केको छ।’
शिष्यहरूले सोधे, ‘उसलाई कसले ब्रह्म सिकायो होला ? गुरुले उत्तर दिए, ‘बह्म पनि कतै सिकाइन्छ र ? जसलाई सिकाउन सकिन्छ, त्यो सत्य हँदैन । ऊ सिकेर फर्किरहेको छैन । ऊ त जानेर फर्किरहेको छ। सिकिन्छ दोस्रोबाट, जानिन्छ आफैं । उनले आफैले जाने । शिष्यहरूले सोधे, ‘त्यसो भए ऊ यहाँ किन फर्किरहेको छ ?’ ‘सायद मलाई धन्यवाद दिन’ गुरुले भने । श्वेतकेतु आए, गुरुको खुट्टा ढोगे र धन्यवाद दिए ।
गुरुले सोधे, ‘मलाई किन धन्यवाद दिदैछौ ? जानेको त तिमीले हौ श्वेतकेतुले भने, ‘तपाईले मलाई ब्रह्मका बारेमा केही पनि नबताएर कृपा गर्नुभयो । त्यसका लागि तपाईंलाई धन्यवाद दिन्छु । यदि मैले ब्रह्मको सम्बन्धमा जान्दथें भने सायद प्राप्त गर्न सम्भव हुँदैन थियो । सबै ‘जान्नु’ जब हट्यो, छुट्यो तब मैले जे जानें, त्यही ब्रह्म हो । जो सबै जान्नुबाट मुक्त हुन्छ, त्यसपछि जे जानिन्छ त्यही सत्य हों।’
श्वेतकेतुले जागेर र शून्य भएर सत्यलाई जाने । अहिलेसम्म संसारमा जतिले जाने, सबैले जागेर र शून्य भएर जानेका छन् । भित्र पूर्ण सजगताको ज्योति बलिरहनुपर्छ । विचारको धुवाँ भएन र विवेकको ज्योति बलेपछि जे जानिन्छ, त्यही सत्य हो । त्यसलाई जान्नु न विचार हो र न अविचार ।