शेखर कोइरालाको प्रश्नले देउवाको सिर निहुरियो, लाजले भुतुक्क
काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाको प्रश्नले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई लज्जित बनाएका छ । बूढानिलकण्ठमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा कोइरालाले विभिन्न प्रश्न गरेपछि देउवा लाजले भुतुक्क भएका हुन् ।
सभापति देउवालाई प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना दिँदै कुरा अघि बढाएका कोइरालाले सरकारको कामकारबाही प्रभावकारी नहुने हो कि भन्ने चिन्तासमेत जनाएका थिए। सभापति देउवाले पार्टीमा पनि ध्यान दिनुपरेकोले सरकारका कामकारबाहीमा प्रभाव पर्न सक्ने कोइरालाको भनाइ थियो।
यतिमात्र होइन प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तारमा गरेको ढिलाइबारे पनि कोइरालाले जिज्ञासा राखेका छन्। ‘तपाईं प्रधानमन्त्री भएको एक महिना भयो। १५ मन्त्रालय नेतृत्वविहीन छ। यस्तो अवस्थाले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ ?’ कोइरालाको प्रश्न छ।
प्रतिनिधि सभामा सांसद संख्या कम भए पनि कांग्रेस सरकारमा रहेको भन्दै उनले गठबन्धनको सरकारमाथि चुनौती रहेको बताए। उनले छिमेकी देशसँगका सम्बन्ध सन्तुलनमा राख्नुपर्ने पनि बताए।
उनले पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक राख्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए। पार्टी कार्यालयमा धर्ना बसेकाहरूका माग सम्बोधन गरिनुपर्ने उनको भनाइ छ। उनले पार्टीको बैठक सभापतिको निवासमा नभई कार्यालयमै राख्नुपर्नेमा जोड दिएका थिए।
उनले १४ औं महाधिवेशन गर्न नेतृत्वको इच्छाशक्ति नदेखिएको बताएका छन्। ‘यहाँहरूले महाधिवेशनको टुंगो लगाउनुहोला भनेर केन्द्रीय सदस्यहरू र नेता तथा कार्यकर्ता कुरेर बस्यौं तर तपाईंहरूले कार्यतालिका ल्याउनुभएन,’ उनले भने।
समायोजनका नाममा क्रियाशील वितरण गर्दा धेरै जटिलता देखा परेको कोइराला बताउँछन्। मापदण्डअनुसार मात्रै क्रियाशील सदस्यता दिइनुपर्ने उनले बताए। उनले विवाद रहेका वडामा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गर्न सकिने विकल्प पनि अगाडि सारेका छन्।
उनले विशेष महाधिवेशन गर्न नहुने बताए। नियमित महाधिवेशन नै गर्नुपर्ने कोइराला बताउँछन्। विशेष महाधिवेशन र म्याद थप गर्ने कुरा कदापी मान्य नहुने कोइरालाले बताए। उनले एकतावद्ध भएर पार्टी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। आज पनि केन्द्रीय समिति बैठक बस्दैछ ।