कुलमान विरुद्ध अख्तियारमा उजुरी, २८ करोड भ्रष्टाचार गरेको आरोप
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध अख्तियारमा उजुरी परेको छ । विभिन्न मिडियालाई आर्थिक सहयोग गरेर आफू अनुकुलका समाचार छपाउन करोडौँ खर्च गरेको उनीमाथि आरोप छ ।
उनले प्राधिकरणको ३५ औं वार्षिकोत्सवमा मात्रै मिडियालाई विज्ञापनबापत झण्डै १ करोड रुपैयाँ खर्चिएको रहस्य बाहिर आएको हो । भारतबाट बिजुली आयात गरेर लोडसेडिङ अन्त्य गरेर चर्चा बटुलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध उजुरी परेको हो ।
घिसिङले ३५औं वार्षिकोत्सवमा ७३ लाख १८ हजार ५ सय ५७ रुपैयाँ विज्ञापनबापत उपलब्ध गराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनले पत्रपत्रिका, अनलाइन र टिभीमा विज्ञापनबापत सो रकम खर्चिएको देखिएको हो ।
जनताको पैसालाई मनोमानी रुपमा खर्च गरेर मिडियालाई आफ्नो पक्षमा पारेको भन्दै कुलमानविरुद्ध अख्तियारमा उजुरी परेको हो । घिसिङको यसअघिको कार्यकालमा कुल २८ करोड रुपैयाँ विज्ञापनबापत खर्च गरेको र त्यसैबाट मिडिया उनको पक्षमा भएको भन्दै छानबिन गर्न माग गर्दै अख्यिारमा उजुरी परेको हो ।
उनले औसतमा वार्षिक रूपमा ७ करोड रुपैयाँ विज्ञापनमा खर्च गरेको अख्तियारको उजुरीबाट देखिन्छ । ४ वर्षे कार्यकालमा घिसिङले २८ करोड रुपैयाँ खर्च गरेको र छानबिन गर्नुपर्ने भन्दै उजुरी परेको हो ।
मिडियालाई आफ्नो पक्षमा पारेपछि विरोध कतैबाट पनि नहुने भन्ने राम्रोसँग बुझेका घिसिङले ठूलो रकम मिडियामा खर्च गरेका हुन् । उनले मिडियाअनुसार विज्ञापन रकम उपलब्ध गराएका थिए ।
३५औं वार्षिकोत्सवमा सबैभन्दा बढी गोरखापत्रलाई विज्ञापनबापत रकम उपलब्ध गराइएको छ । उनले गोरखापत्रलाई एउटै कार्यक्रमबापत ७ लाख रुपैयाँभन्दा बढी रकम दिएका छन् ।
त्यसैगरी, दोस्रो धेरै पैसा लिनेमा कान्तिपुर मिडिया ग्रुप छ । उसले एउटै साधारणसभाबाट झण्डै ४ लाख रुपैयाँभन्दा बढी पैसा लिएको हो ।
न्यू बिजनेस एज, कामना प्रकाशन प्रालि, नागरिक दैनिक र नयाँ पत्रिकासहित घिसिङले १ सय ४४ वटा मिडियालाई रकम उपलब्ध गराएको देखिएको छ । यो सम्पूर्ण विवरण एउटै कार्यक्रमको हो ।
मोटिभेट ग्रुप अफ कम्पनी प्रा.लि, मोटिभेट न्यूज डटकमका लागि पनि २५ हजार रुपैयाँ आएको थियो । यो पटक भने मोटिभेट न्यूजले विद्युत प्राधिकरणको सूचना प्रकाशन गरेको छैन् ।



