कति छ देशभर एमालेको सम्पति, माधव नेपालको भागमा कति ?
काठमाडौं – नेकपा एमाले विभाजन भएको छ । विभाजन पछि माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी (एस) दर्ता भएको छ ।
नयाँ पार्टी दर्ता भएपछि नेकपा एमाले सम्पति के हुन्छ ? भन्ने विषयमा बहस सुरु भएको छ । नेपालले आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमाले पार्टीको सम्पत्तिमा दावि गर्न पाइन्छकी पाइदैन ? यस विषयमा पनि बहस सुरु भएको छ ।
निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणका आधारमा नेकपा एमाले मुलुककै सबैभन्दा धनी पार्टी हो। एमालेसँग जग्गा, भवन र नगदसहित एक अर्बभन्दा धेरै सम्पत्ति छ।
नेपालले पार्टी विभाजन गरेपछि अब एमालेको सम्पत्ति पनि विभाजन हुन्छ कि हुन्न भन्ने प्रश्न खडा भएको छ। नेपाल पक्षले विभाजनपछि सम्पत्तिमा दाबी गर्ने तयारी गरिरहेको छ।
बिहीबार एक पत्रकार सम्मेलन गर्दै नेता नेपालले एमालेमा रहेको सम्पत्तिको विषयमा कानून अनुसार अगाडी बढ्ने जानकारी दिए । ‘कानुनमा के छ हेरौंला। दाबा गरौंला। होइन भने म निर्माण गर्न सक्छु,’ उनले भने, ‘म निर्माण गर्ने अरू ध्वंश गर्ने हुन्।’
नेकपा एमालेको नाममा राजधानीको बल्खुमा १३ रोपनी जग्गा छ। त्यस्तै पुतली सडकमा मनमोहन मजदुर भवन र मजदुर संगठन जिफन्टको कार्यालय रहेको छ।
एमालेको ललितपुरमा तुलसीलाल स्मृति प्रतिष्ठान भवन र काठमाडौंको रानीबारीमा पुष्पलाल प्रतिष्ठानको भवन रहेको छ । भूकम्पपछि एमालेको बल्खुको भवन भत्किएपछि अहिले पार्टी कार्यालय थापाथलीको भाडाको घरबाट संचालन हुँदै आएको छ ।
पार्टीका बैठकहरू तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा हुने गरको छ। यसैबीच, निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पार्टी विभाजनपछि आपसी सहमतिमै सम्पत्तिको बाँडफाँड हुँदै आएको बताएका छन्।
यसैगरी, उन्नत लोकतन्त्र पार्टी नेपालका अध्यक्ष एवं अधिवक्ता स्वागत नेपालले वर्तमान कानूनमा त्यस्तो कुनै खास व्यवस्था नभए पनि सहमतिमै सम्पत्तिको बाँडफाँड हुँदै आएको बताएका छन्।