अर्थमन्त्री शर्माको एउटा अभिव्यक्तिले देशभर तरङ्ग, युवाहरु उत्साहित

शनिबार, १२ भाद्र २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्धन शर्माको एउटा अभिव्यक्तिले देश तरङ्गीत भएको छ । उनले नयाँ राजनीतिक मुद्धाको उठान गरेपछि देशभर तरङ्ग पैदा भएको हो ।

नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत भएका शर्माले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै युवाहरुलाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अगाडि बढ्न निर्देशन दिएपछि देश तरङ्गीत भएको हो ।

वाईसीएलको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै शर्माले विगतमा पार्टीले उठाउँदै आएका मुद्दालाई बोकेर अघि बढ्न निर्देशन दिएका हुन् । ‘कार्यकारी प्रमुखको कुरा, समानुपातिक निर्वाचन, पहिचान र विशेष अधिकारका मुद्दा बाँकी छन् । ती मुद्दाहरूलाई समातेर अगाडि बढ्नुस्’ उनले भने ।

वाईसीएल मुद्दा विहीन बनेमा जीवन्त नहुने शर्माको भनाइ थियो । उनले विगतमा पार्टीले उठाउँदै आएका र पूरा हुन नसकेका मुद्दालाई फेरि उठाउनुपर्ने बताए ।

२०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको शासकीय प्रणालीमा जानुपर्ने माग उठाएको थियो । तर संविधान निर्माणका क्रममा सहमति गर्दै माओवादी कार्यकारी प्रधानमन्त्रीको पक्षमा लागेको थियो ।

वाईसीएलले सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणको मुद्दा बोकेर अघि बढ्नुपर्ने शर्माको भनाइ थियो । उनले संगठनलाई विस्तार गर्दै सदस्यलाई रोजगारी र उत्पादनमा जोड्ने योजना ल्याउन सुझाव दिए ।

संगठनले तय गरेका नारालाई कार्यान्वयन गर्न र गुटबन्दी नगरी सहमति गरेर अघि बढ्न पनि शर्माले निर्देशन दिएका छन् । उनले सहमतिका आधारमा नै संगठनमा कार्यविभाजन गर्नका लागि सुझाव दिए ।