भोलीदेखि सबै विद्यालय खुल्ने
काठमाडौँ – भोलीदेखि सबै विद्यालयहरु खुल्ने भएका छन् । यो काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको खवर हो ।
भदौ १५ गतेदेखि नगरपालिका भित्रका सबै विद्यालयहरु खुल्ने भएका छन् । नगरपालिकाको शिक्षा समितिले भदौ १५ गतेदेखि विद्यालय सञ्चालन गर्न सक्ने भन्दै अनुमति र परिपत्र जारी गरेको छ ।
भदौ १५ देखि सरकारी र सामुदायिक दुबै विद्यालय सञ्चालन गर्न दिने नगरपालिकाले निर्णय गरेको छ । स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, आवश्यक कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्थासहित भौतिकरुपमै विद्यालय सञ्चालनका लागि नगरपालिकाले अनुमति दिएको हो ।

त्यस्तै, अन्य क्षेत्रमा पनि विद्यालय खोल्न दवाव दिन थालिएको छ । शहरी क्षेत्रका विद्यालय र शहरी क्षेत्रमा बस्ने विद्यार्थीहरुले जेनतेन अनलाइन कक्षा सञ्चालन गरेको भए पनि ग्रामीण क्षेत्रमा बस्ने अधिकांशको पहुँचमा पुगेको छैन अनलाइन कक्षा । त्यस्ता ठाउँमा पनि कक्षा संचालनका लागि विभिन्न क्षेत्रबाट दवाव दिन थालिएको छ ।
किनभने, कम्तीमा २ सन्तानका लागि ल्यापटप वा मोबाइल, मोबाइल डाटा वा इन्टरनेटको आवश्यकता पूरा गर्न सक्ने हैसियत सबै अभिभावकसँग छैन ।
त्यसबाहेक ग्रामीण भूभागका कतिपय स्थानमा मोबाइलको नेटवर्कसम्म छैन भने इन्टरनेटको पहुँच त अझै टाढाको विषय भयो । त्यसकारण पनि १७ महिनाको अवधिमा विद्यार्थीको सिकाई उपलब्धी खस्किएको छ ।
कोभिड–१९ रोगका कारण २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् । विद्यालय बन्द भएको करिब ३ महिनापछि केही विद्यालयमा अनलाइन विधिबाट पठनपाठन सुचारु भएको भए पनि अहिलेसम्म पनि कैयन् विद्यार्थीले अनलाइन कक्षा लिन पाएका छैनन् भने कैयन् शिक्षक र विद्यार्थीलाई अनलाइन कक्षाबारे जानकारीसम्म छैन ।
उता, कोरोनाको डरका कारण केही सरकारी शिक्षकले त घरमै बसीबसी आरामसँग तलब खाइरहेका छन् । केही सरकारी विद्यालयले सम्भव भएसम्म भौतिकरुपमै पठनपाठन गरिरहेका छन् भने केही विद्यालयले रेडियो, स्थानीय टेलिभिजन आदिका माध्यमबाट पनि पठनपाठनलाई निरन्तरता दिइरहेका छन् ।
तर, भौतिकरुपमै विद्यालय सञ्चालनमा नआएसम्म विद्यार्थीको सिकाइमा एकरुपता आउन नसक्ने र सिकाई उपलब्धीमा धेरै नै फरक पर्ने शिक्षाविद्हरुको भनाइ छ । शिक्षाविद् प्रा।डा. विद्यानाथ कोइराला भन्छन्, ‘सिकाइ उपलब्धीमा कत्तिको अन्तर पर्यो भन्ने कुरा त अहिले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको क्षमता हेर्दा भइहाल्छ नि ।’
हो, भौतिकरुपमै विद्यालय खुल्दा र नखुल्दाको परिणाम त धेरै नै छन् । भौतिकरुपमै विद्यालय गएर पढ्ने विद्यार्थी, शहरमा स्रोत साधन र इन्टरनेटको राम्रो पहुँच लिएर पढ्ने विद्यार्थी, ग्रामीणस्तरमा सामान्य मोबाइल डाटाको आधारमा अध्ययन गर्ने विद्यार्थी र इन्टरनेटको पहुँच नै नभई अध्ययन गर्ने विद्यार्थीको सिकाइ उपलब्धी एउटै हुन्छ भन्न सकिने अवस्था छैन ।