गठबन्धन सरकारको उद्योगमन्त्री बने शाही

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौँ – गठबन्धन दललाई समर्थन गर्दै मन्त्री बनेका लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री अजय शाहीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । आज प्रदेशका मुख्यमन्त्री कुलप्रासद केसीले उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव जितेका शाहीलाई नेकपा एमालेले कारवाही गरेको थियो । उनले आफू एमालेको सूर्य चुनाव चिन्ह लिएर स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको बताउँदै आएका छन् ।

आफूले एमालेको सदस्यता नलिएको र स्वतन्त्र रुपमा निर्वाचन जितेको भन्दै राजनीतिक पार्टीको ह्वीप नलाग्ने उनले दाबी गरेका छन्। हृदेश त्रिकाठीको समूहबाट उनले चुनाव लडेका थिए ।

‘म नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र १ ‘ख’ बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्य हुँ।’ उनले भनेका छन्, ‘म आवद्ध रहेको स्वतन्त्र राजनीतिक समूह र तत्कालीन नेकपा एमालेबीच भएको २ दुई बुँदे सम्झौता सहमति अनुसार मैले सूर्य चुनाव चिन्ह प्रयोग गरेर चुनाव जितेको हुँ ।’

‘स्वतन्त्र रुपमै निर्वाचनमा होमिएर निर्वाचित भएको हुँ’ उनले भनेका छन्, ‘मैले नेकपा (एमाले) पार्टीको सदस्यता लिएको छैन। तसर्थः मलाई राजनीतिक पार्टीको व्हीप लाग्दैन।’

एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक संसद विघटन गरेपछि हृदेश त्रिपाठीको समूह ओलीबाट अलगिएको थियो । त्यतिवेलादेखि उनीहरुले आफूहरु स्वतन्त्र रहेको बताउँदै आएका छन् ।