डेब्यु खेलको पहिलो बलमा नै विक्रम सोबले लिए विकेट
काठमाडौं – पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विक्रम सोबले डेब्यु खेलमा नै विकेट लिएका छन् ।
आज नेपालका लागि डेब्यु गरेका विक्रमले दोस्रो ओभरको पहिलो बलमा नै विकेट लिएका हुन् ।आईसीसी क्रिकेट विश्वकप लिग –२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनी (पीएनजी) सँग दुई खेल खेल्दैछ ।
खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ । यस्तै शुक्रबार हुने दोस्रो खेल भने डे नाइट हुनेछ । नेपालले पहिलोपटक डे नाइट ओडीआई खेल्न लागेको हो ।
त्रिकोणात्मक सिरिज र पीएनजीसँगको खेलका लागि नेपाली क्रिकेट टोली अगष्ट २४ मा ओमान पुगेको थियो । त्यसपछि नेपालले ओमानमै अभ्यास गरिरहेको छ ।
नेपालले पीएनजीसँग पहिलोपटक ओडीआई खेल्न लागेको छ । संयोगबस सन् २०१८ मा जिम्बाब्वेमा भएको एक दिवसीय विश्वकप छनोटमा पीएनजीलाई नै हराएर नेपालले पहिलो पटक ओडीआई मान्यता पाएको थियो ।
त्यसपछि नेपाल र पीएनजीबीच पहिलोपटक खेल हुन लागेको हो । नेपालले त्यसपछि नेदरल्याण्ड्स, युएई, ओमान र अमेरिकासँग मात्र ओडीआई म्याच खेलेको छ । पीएनजी नेपालले ओडीआई खेल्न लागेको पाँचौ टिम हो ।
नेपालले अहिलेसम्म पीएनजीसँग चार खेल खेल्दा एकपटक मात्र जित हात पारेको छ । सन् २००५ मा भएको एक दिवसीय विश्वकप छनोट र २०१५ मा भएको र विश्वक क्रिकेट लिगको दुई खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो ।
पछिल्लो पटक २०१८ मा भएको खेलमा भने नेपाल विजयी भएको थियो । सन् २०२० फेब्रुअरीमा काठमाडौंमा भएको विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजपछि नेपालले पहिलोपटक ओडीआई खेल्न लागेको हो ।