माधव नेपालले हाले प्रेम आलेमाथि सौता !
काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले मन्त्री बन्नकै लागि फ्लोर क्रस गरेर शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिए । देउवालाई विश्वासको मत दिएर माधव नेपालको खेमामा लागेका आले पार्टी फुट्दा पनि नेपाललाई साथ दिए ।
नेपाललाई साथ मात्र दिएनन् एकीकृत समाजवादी पार्टीलाई प्रदेशको सबैभन्दा ठूलो दल बनाउन सफल भए । पार्टी निमार्णमा यति ठूलो योगदान गरेका आलेलाई माधव नेपालले भने वेवास्ता गरेका छन् । उनले आलेमाथि सौता हालेका छन् ।
राष्ट्रियसभाका निर्वाचित सांसद शेरबहादुर कुँवर र आलेलाई आलोपालो मन्त्री बनाउने भएपछि ओलमाथि सौता हालेका हुन् ।
सांसद प्रेम आलेले महत्वपूर्ण भूमिका निभाएर माधव नेपालको साथमा बढी सांसद रहने अवस्था बनाए पनि भीम रावलको झाँको झार्नलाई पनि कुँवरलाई मन्त्री बनाउनै पर्ने छ ।
राष्ट्रियसभाका निर्वाचित सांसद कुँवर अछामका हुन् । उनको पदावधि २० फागुन २०७८ सम्म छ । त्यसैले ६ महिना उनलाई मन्त्री बनाउने प्रयास समेत भएको छ ।
प्रेम आलेलाई पछि बनाउने गरी सहमति गर्न खोजिएको बुझिएको छ । तर, आले पहिलो लटमै मन्त्री बन्ने प्रयासमा छन् । नेकपा एसभित्र आले र कुँवरलाई आलोपालो गराउने प्रयास पनि चलेको छ ।
मन्त्रीको दौडमा प्रतिनिधि सभाका २३ मध्ये २१ जना रहेका छन् । सबैको पालो पुर्याउने गरी अध्यक्ष माधवकुमार नेपालले व्यवस्थापन गर्ने भएका छन् । आलोपालो मन्त्री बनाएर सहमति निकाल्ने तयारी नेपालले गरेका छन् ।
सुदूरपश्चिममा नेकपा एस सबैभन्दा बढी शक्तिशाली देखिएको छ । त्यहाँको प्रदेशसभामा पनि नेकपा एस पहिलो ठूलो दल बनेको छ । सुदूरपश्चिमका प्रतिनिधि सभा सदस्यले पनि अन्तिम समयमा माधव नेपाललाई साथ दिए ।