माधव नेपाललाई अर्को झट्का, अत्यन्त्रै नजिकका नेताले छोडे साथ

आइतबार, १० असोज २०७८

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई अर्को झट्का लागेको छ । अत्यन्त्रै नजिकका एक नेताले उनको साथ छोडेपछि झट्का लागेको हो ।

पूर्वमन्त्री पुरुषोत्तम पौडेलले माधव नेपालको साथ छोडेका छन् । नेकपा एकता एकता भंग भई एमाले ब्युँतिएपछि माधव नेपालसँगै समानान्तर कमिटीमा आबद्ध पौडेल पार्टी विभाजनको एक महिनापछि एमालमै फर्किएका हुन् ।

पौडेल माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा पनि आबद्ध भइसकेका थिए । तर उनले एक महिनामै माधवलाई त्याग गरेका छन् ।

समाजवादीले पदाधिकारी चयन गर्दा वेवास्ता गरेको भन्दै मुल पार्टीमा फर्किएका हुन् ।

तत्कालीन एमालेको खेलकुद महासंघका अध्यक्ष पौडेल सुशील कोइरालाको पालामा खेलकुद मन्त्री बनेका थिए । पौडेलले एमालेमा ४३ वर्ष सक्रिय राजनीतिक जीवन बिताइसकेकोले आफ्नो कर्मभूमि र मूल पार्टीलाई एकीकृत गर्ने पक्षमा निर्णय गरेको जानकारी दिएका छन् ।

अलग पार्टी बनाएर शक्तिलाई विभाजन गर्नुभन्दा पार्टीभित्रै बसेर समस्याहरूको समाधान गर्दै अघि बढ्ने प्रयास गर्नु बढी उपयुक्त देखिने उनको भनाइ छ ।

उनले विभाजनतिर लाग्नुभन्दा आफूले जगैदेखि उठाएको पार्टीलाई अझै मेहनत साथ शुद्धीकरण र सुदृढिकरण गर्दै अघि बढ्नु उचित हुने बताएका छन् ।

‘पार्टी विभाजन गरेर अनेक शक्तिहरूलाई खेल्ने अवसर दिनुभन्दा हरेकले आफैंलाई सच्याएर अघि बढ्नु सर्वथा उचित हुने स्पष्ट छ,’ उनले भनेका छन् ।

विगतमा पनि पार्टीभित्रका समस्याहरूको समाधान र एकताको पक्षमा आवाज उठाउँदै आएको भन्दै पौडेलले आफूले मेहनतपूर्वक बनाएको पार्टीभित्र बसेर विकृति तथा विसंगत विचारसँग लड्दै अघि बढ्ने उल्लेख गरेका छन् ।